• २ असोज २०८२, बिहिबार

कोटाको खाद्यान्नमध्ये ६७ प्रतिशत मात्र बिक्री

blog

लिमिटेडको सिमकोट शाखाबाट खाद्यान्न बिक्री गरिदै । तस्बिरः राजन रावत

 राजन रावत

हुम्ला, असोज २ गते । दुई वर्ष अगाडिसम्म सधैं खाद्यान्न अभाव हुने हुम्लामा आर्थिक वर्ष २०८१–८२ मा निर्धारित कोटाको खाद्यान्नमध्ये ६७ प्रतिशत मात्र बिक्री भएको छ । यो खाद्यान्न जिल्लाभित्रका एउटा शाखा, दुई वटा डिपो र तीनवटा बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गर्दा देखिएको हो ।

गत आर्थिक वर्षमा खाद्यान्न बिक्री गर्दैआएको शाखा, डिपो र बिक्री केन्द्रमा निर्धारण गरिएको कोटाको खाद्यान्न बिक्री वितरण गर्दा ६७ दशमलव ५२ प्रतिशत मात्र बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापा मगरले बताउनुभयो । 

सो आर्थिक वर्षमा सबै स्थानका लागि २३ हजार २१० दशमलव नौ क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएकोमा १५ हजार ६७३ दशमलव ५८ क्विन्टल मात्र असार मसान्तसम्म बिक्री भएको उहाँले बताउनुभयो । जसमा शाखाले उपलब्ध गराएको विवरणअनुसार सिमकोट शाखाका लागि स्थलमार्ग र तिब्बती मार्ग गरी १९ हजार ९८७ दशमलव ५० क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएकोमा सबै खाद्यान्न शाखामा आइपुगेको भए पनि त्यसमा १२ हजार ८८५ दशमलव ८३ क्विन्टल मात्र बिक्री भएको छ । अझै शाखाको गोदाममा सात हजार १०१ दशमलव ६७ क्विन्टल खाद्यान्न मौज्दात छ ।

त्यसैगरी डिपो कार्यालय श्रीनगरका लागि एक हजार ७५१ दशमलव १० क्विन्टल खाद्यान्न कोटा रहेकोमा त्यसमा एक हजार ३१५ दशमलव ७५ क्विन्टल मात्र बिक्री भई हाल गोदाममा ४३५ दशमलव ३५ क्विन्टल मौज्दात छ । त्यसैगरी डिपो कार्यालय सर्केगार्डका लागि सो आर्थिक वर्षमा ८७२ क्विन्टल खाद्यान्न कोटा रहेकोमा सबै बिक्री भएको छ । 

यता, बिक्री केन्द्रतर्फ याङ्चु बिक्री केन्द्रका लागि तीनसय क्विन्टल खााद्यान्न कोटा रहेकोमा सबै बिक्री भएको छ भने तुम्च बालुकुना बिक्री केन्द्रका लागि दुईसय क्विन्टल खाद्यान्न कोटा रहेकोमा सबै बिक्री भएको छ । त्यसैगरी बिक्री केन्द्र छप्रेलाका लगि एकसय क्विन्टल खाद्यान्न रहेकोमा त्यो पनि सबै बिक्री भएको छ । 

यसरी निर्धारित कोटाको खाद्यान्न सबै बिक्री हुन नसक्नुमा सडक सञ्जाल जोडिएका कारण भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको भनाइ छ । उहाँले सडक जोडिएपछि निर्धारित कोटाको खाद्यान्न सबै ढुवानी भएर आउने, उपभोक्ताहरुमा धेरै खाद्यान्न मौज्दात गर्ने बानीमा परिवर्तन आउनु र बजारमा पनि पाउने भएको कारण रहेको उहाँले बाउनुभयो । 

अर्को कुरा पहिले सहजै खाद्यान्न नपाउने भएकाले भनसुन र पहुँचका भरमा खाद्यान्न निकालेर मौज्दात गर्ने बानीले पनि खाद्यान्न अभाव हुने गरेको उहाँको भनाइ छ ।