सन्तोष दहित
दाङ, असोज २ गते । दाङको ऐतिहासिक सम्पदा मानिने दङ्गीशरण दरबार अहिले झाडीले पुरिएको छ। तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटस्थित यो दरबारमा सरसफाइ र संरक्षणको अभावका कारण वरिपरि घना झाडी र रुखबिरुवा फैलिइसकेका छन् । दरबार क्षेत्र दिनप्रतिदिन झाडीले ढाकिँदै गइरहेको छ।
दरबार क्षेत्रलाई अवलोकन गर्न आउने दर्शकहरू झाडीका कारण भित्र पस्नै नसक्ने अवस्थामा पुगेको छ । धेरै पर्यटकहरू बाहिरैबाट भग्नावशेष टोलाउँदै फर्किन गरेको स्थानीयहरू बताउछन् । ऐतिहासिक महत्त्व बोकेको यस दरबारलाई उपेक्षा गरिएकोमा थारू अगुवाहरु चिन्ता व्यक्त गर्दै आएका छन् ।
थारू राजा दङ्गीशरणले त्यस क्षेत्रमा राज्य सञ्चालन किम्बदन्ती पाइन्छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको यस दरबारमा अहिले पनि केही भग्नावशेष भेटिन्छन्। दरबारको दक्षिणपट्टि ठुलो आकारका पोखरीहरू छन् भने पूर्वपट्टि मन्दिर र थारू समुदायले पूजाआजा गर्दै आएको ठन्वा (भुह्यारथान) रहेको छ। यस्ता धार्मिक र सांस्कृतिक सम्पदाले यस क्षेत्रलाई अझ महत्त्वपूर्ण बनाएको छ।
यस्तै दरबारभित्र थारू समुदायले प्रयोग गर्ने परम्परागत सामग्रीहरू उत्खननको क्रममा फेला परेका थिए। तर संरक्षण अभावमा ती सामग्रीहरू पनि नष्ट हुने खतरा बढ्दै गएको छ ।
केही वर्षअघि थारू राजा दङ्गीशरणको सम्मानमा दरबार क्षेत्रमा शालिक निर्माण गरिएको थियो । तर अहिले सो शालिक पनि बाक्लो झाडीले ढाकिसकेको छ। “कम्तीमा बनेका संरचनाको संरक्षण गर्नसकेको भए पनि पनि धेरै हुन्थ्यो, थारू कल्याणकारिणी सभा क्षेत्र नं. ३ का सचिव जितेन्द्र चौधरीले गुनासो गर्दै भन्नुभयो, तर त्यो पनि हुन सकेको छैन ।”
यद्यपी दसैँ–तिहारपछि दरबार क्षेत्रको सरसफाइसँगै यसको बृहत् विकासका लागि सुरु गर्ने तयारी सो वडाको वडाध्यक्ष मानवबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय तथा प्रदेश सरकारबाट करिब चार करोड रुपियाँ बजेट आएको छ र सो रकमको प्रयोग दरबार क्षेत्रको बृहत् विकासका लागि टेण्डर प्रक्रियामार्फत हुने छ।
तर, स्थानीय बासिन्दा भने सशंकित छन्। “बर्सेनि बजेट आएको सुनिए पनि ठोस काम भएको देखिँदैन, स्थानीय जितेन्द्र चौधरीले भन्नुभयो, उत्खनन, संरक्षण र प्रवर्धनका लागि पटक–पटक रकम छुट्ट्याइए पनि कार्यान्वयन भएको देखिँदैन ।”
यस्तै दरबारको विचभागमा भ्यू टावर निर्माण गरिएको छ। तर, यो टावरले थप विवाद निम्त्याएको छ। थारू अगुवाहरूका अनुसार, दरबारको मौलिक स्वरूप र ऐतिहासिकता हराउने उद्देश्यले भ्यू टावर बनाइएको बताउछन् । यो संरचना दरबारको अस्तित्व समाप्त गर्ने योजनाअन्तर्गत गरिएको थारू अगुवाहरूले आरोप लगाएका छन्।
इतिहास, संस्कृति र पर्यटनका दृष्टिले दङ्गीशरण दरबार निकै महत्त्वपूर्ण मानिन्छ। तर, यसको संरक्षण र प्रवर्धनमा राज्यका निकाय उदासीन देखिएको स्थानीयहरूको आरोप छ। अरू गर्न नसके पनि कम्तीमा दरबार वरिपरि रहेका झाडी र फोहाेरको सरसफाइ त गर्न सकिन्छ । तर, त्यस्तो सामान्य काममा पनि राज्यको ध्यान पुगेको छैन। पुरातत्व विभागले विगतमा तीन पटक उत्खनन गरिसके पनि प्राप्त संरचना संरक्षणमा कमी भएकाले अहिले दरबार अलपत्र बनेको छ।