• २ असोज २०८२, बिहिबार

दाङमा ४७ सरकारी भवन र एकसय ८९ वटा सवारीसाधन नष्ट

blog

आन्दोलनका क्रममा भूमिसुधार तथा मालपोत कार्यालयमा जलेको गाडी र भवन । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, असोज २ गते । दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालय दाङले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी कार्यालयका २६ वटा भवन पूर्ण रुपमा र नौ वटा कार्यालयका २१ वटा भवन आंशिक रुपमा क्षति भएका छन् । 

जसअन्तर्गत उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय तुलसीपुरका तीन-तीन वटा,  जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकाका दुई÷दुई वटा भवन पूर्ण जलेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय घोराही, नापी कार्यालय, उच्च अदालत, लोकसेवा आयोगको कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर, जलस्राेत तथा सिँचाइ कार्यालय, आयल निगम कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय तुलसीपुर र घोराही उपमहानगरपालिकाको एक-एक वटा भवन पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार घोराही उपमहानगरपालिका छ वटा, डिभिजन सडक कार्यालयका पाँच वटा, घरेलु तथा साना उद्योग कार्यालयका तीन वटा, बबई गाउँपालिकाका दुई वटा, जिल्ला सरकारी वकिल कार्यालय, यान्त्रिक कार्यालय, सडक पूर्वाधार कार्यालय, जिल्ला अदाल र तुलसीपुर बसपार्क तथा टर्मिनल भवनका एक÷एक वटा भवनमा आंशिक क्षति भएको छ ।

त्यसैगरी आन्दोलनका सरकारी कार्यालयमा राखिएका एक सय ८९ वटा सवारीसाधनमा आगजनी भएको छ । जसअन्तर्गत ४० वटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा जलेका छन भने चारवटा आंशिक रुपमा क्षति भएको प्रशासकिय अधिकृत गौतमले बताउनुभयो । उहाँका अनुसार दुई पाङ्ग्रेअन्तर्गत एक सय ३४ वटा, तीनपाङ्ग्रे एउटा र साइकल दश वटा पूर्णरुपमा क्षति भएका छन् ।

प्रशासकीय अधिकृत गौतमका अनुसार क्षति भएकामा चारपाङ्ग्रे सरकारी गाडी ३३ वटा, निजी दुई वटा, टिप्पर तीन वटा, दमकल, स्काभेटर, ट्याक्टर, टेलर, लोडर, ट्याङ्कर एक-एक वटा  छन् । त्यसैगरी सरकारी मोटरसाइकल ८४ वटा, निजी मोटरसाइकल ४७ वटा, स्कुटर तीन वटा, अटो निजी एउटा र दश वटा साइकलमा पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । 

प्रारम्भिक चरणमा सरकारी कार्यालयका भवन, कार्यालयमा राखिएका सरकारी तथा निजी सवारीसाधनमा भएको क्षतिको विवरण सङ्कलन गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो, "अहिलेसम्म सङ्ख्यात्मक रुपमा केकति क्षति भएको छ, त्यो विवरण सङ्कलन गरिएका छौं । त्यसपछि मात्र आर्थिक रुपमा भएको क्षतिको विवरण आउनेछ ।" 

प्रशासकीय अधिकृत गौतमले निजी निवासी, पार्टी कार्यालय, व्यावसायिक भवनसँगै सङ्घसंस्थाका कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरेको बताउनुभयो।