• २ असोज २०८२, बिहिबार

सिदिङ्वा गाउँपालिकाले दसैँअघि भुक्तानी गर्न नसक्ने

blog

सिदिङ्वा गाउँपालिकाको कार्यालय ।

साहारा लिम्बू

फुङलिङ, असो २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजातसमेत लिएर गएका  कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो ।

गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनै पनि भुक्तानी गर्न प्राविधिक र व्यावहारिक दुबै हिसाबले कठिन रहेको भुक्तानी गर्न नसक्ने जनाएको छ । साथै यसबाट उत्पन्न हुने समस्याप्रति कर्मचारी जवाफदेही हुन नसक्नेसमेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यस्तै अहिलेसम्म ठप्प रहेको कार्यालय सञ्चालनको वातावरण बनाउने कार्यमा सहजीकरण र समन्वय गरिदिन सरोकारवालालाई आग्रह गरिएको छ । गत भदौ २५ गते एक समूहले गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कार्यालयका सामग्री तथा अत्यावश्यक कागजात लिएर गएका थिए । उक्त दिनबाट नै कार्यालयको कामकाज ठप्प भएको कर्मचारीले जनाएका छन् । 

असोज ३ गते शुक्रबारसम्ममा कार्यालय सञ्चालन नभएमा प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा, शिक्षकहरूको तलबभत्ता निकासा, हालसम्मको दायित्व सृजना भएको खर्च भुक्तानी, सडक हेरालुको पारिश्रमिक तथा साउन महिनाबाट हालसम्मको कर्मचारीको तलबभत्ता भुक्तानी गर्न साथै अन्य निकायमा पेश गर्नुपर्ने वार्षिक विवरण पेशसहितका कार्य हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।