पोखरा समाचारदाता
पोखरा, असोज २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिविशेषको घरमा तोडफोड र आगजनी भएका स्थानको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले जनताले प्रत्यक्ष सेवा लिने कार्यालयबाट तत्काल सेवा प्रवाह सुरु गर्ने जनाउनुभएको छ । यस्तो विषम परिस्थितिमा कोही पनि हतोत्साहित हुन नहुने र सबै मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
गत २३ र २४ भदौमा देशभर प्रदर्शन भइरहँदा मुख्यमन्त्री पाण्डे एक कार्यक्रममा भाग लिन दुबई पुग्नुभएको थियो । दोस्रो दिनको प्रदर्शनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, मुख्यमन्त्री निवासदेखि मन्त्रीका निवास, सङ्घ, प्रदेश तथा जिल्ला तहका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भइसकेको थियो ।
दुबईबाट फर्केर मङ्गलबार मुख्यमन्त्री पाण्डे मन्त्रीपरिषद्को कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्यमन्त्री निवासलगायत कार्यालयको अवलोकन गर्नुभएको हो । अवलोकनकै व्रmममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जेनजीको आन्दोलनमा भएको क्षतिलाई पुनर्निर्माण गरिने र यसबारे सङ्घ सरकारसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय मात्र जलेको होइन, देशैभरिका सरकारी कार्यालयसँगै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जलेको छ तर पनि हामीहरू जनताले प्रत्यक्ष सेवा लिने कार्यालरुबाट सेवा सुरु गर्छौं ।”
जेनजीको आन्दोलन कतिपय अवस्थामा जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा सरकारी सम्पति जलेर खरानी भएको उहाँको ठहर छ । उहाँले भन्नुभयो, “चित्त नबुझेको कुरामा माग राख्न पाउने आफ्नो संवैधानिक अधिकारै हो तर शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बन्दा घुसपैठ नभएको भन्न सकिने ठाउँ छैन । भड्काउने तत्वको पहिचान हुनु पर्छ । व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगो लगाउनु काम गलत हो ।”
पोखरामा जेनजीको प्रदर्शनमा भौतिक, कृषि र स्वास्थ्यबाहेक सबै मन्त्रालय जलेर भष्म भएका छन् । महìवपूर्ण कागजात नष्ट भएका छन् भने फर्निचरलगायत भौतिक संरचना जलेका छन् । मुख्यमन्त्री कार्यालयमा कर्मचारीले जलेका संरचना सङ्कलन गरी कार्यालयपरिसरमा थुप्रो लगाएर राखेका छन् । मुख्यमन्त्री कार्यालयका सचिव रमेश ढकालले गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयका मात्रै ४३ वटा चारपाङ्ग्रे र १०२ वटा दुईपाङ्ग्रे सवारीसाधन जलाइएको र केहीमा तोडफोड भएको जानकारी दिनुभयो ।