भैरहवा समाचारदाता
भैरहवा, असोज २ गते । रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) र डेङ्गु दुवै रोगको सङ्क्रमण एकैसाथ बढ्दै गएको छ । यी रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १० जना र डेङ्गुका १८४ जना सङ्क्रमित भेटिएका छन् ।
सङ्क्रमितमध्ये जापानिज इन्सेफ्लाइटिसका तीन जना रुपन्देही बाहिरका भए पनि डेङ्गुका सङ्क्रमितमध्ये ११६ जना रुपन्देहीका स्थायी बासिन्दा हुन् । अन्य सङ्क्रमित भने उपचारका लागि रुपन्देही आएका बाहिरी जिल्लाका हुन् ।
स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिमसन अस्पताल मणिग्राममा उपचारकै क्रममा निधन भएको हो ।
शाहले रुपन्देहीमा दुवै रोगको सङ्क्रमण बढ्दो अवस्थामा पुगेको बताउँदै जापानिज इन्सेफ्लाइटिस दुईभन्दा बढीमा देखिएपछि नै महामारी मानिने प्रावधान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रुपन्देहीमा जापानिज इन्सेफ्लाइटिसको एक जना पनि सङ्क्रमित थिएनन् ।
जिल्लाका सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छन् । तिलोत्तमा नगरपालिका–२, ४ र ५, देवदहका वडा नम्बर १ र ५, मायादेवीको ५ र सैनामैनाको ३ नम्बर वडाका बासिन्दामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै डेङ्गु सङ्क्रमण रुपन्देहीका अधिकांश पालिकामा फैलिएको छ । कोटहीमाई र सम्मरीमाई गाउँपालिकाबाहेक सबै पालिका प्रभावित छन् । सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३५ जना र तिलोत्तमा नगरपालिकामा २६ जना सङ्क्रमित भेटिएका छन् ।
सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ । विज्ञका अनुसार लामखुट्टे नियन्त्रण, सरसफाइ, पानी जम्न नदिने र सामुदायिक जागरुकता नै दुवै रोग नियन्त्रणको प्रमुख उपाय हुन् । स्वास्थ्यकर्मीले अहिलेको अवस्थालाई ‘चिन्ताजनक’ भन्दै सरोकारवाला निकाय र समुदायलाई सक्रिय हुन आग्रह गरेका छन् ।