जनार्जन खत्री
सर्लाही, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा सर्लाहीको हरिवन नगरपालिकाको दमकल क्षतिग्रस्त बनेको छ ।
सर्लाही जिल्लाभर र छिमेकी महोत्तरी तथा रौतहट जिल्लामा समेत आगलागी नियन्त्रण गर्न पुग्ने दमकल आगजनीपछि प्रयोग गर्नै नमिल्ने बनेको हो । भदौ २४ गते जेनजीको आन्दोलन हुँदा नगरपालिका कार्यालयमा आगजनी गर्न पुगेका प्रदर्शनकारीले अत्यावश्यक सेवाअन्तर्गत पर्ने दमकलमा समेत आगो झोसेका थिए ।
सर्लाहीमा दक्षिणी भेगमा सदरमुकाम मलङ्गवा नगरपालिका र उत्तरी भेगमा हरिवन नगरपालिकासँग मात्रै दमकल रहेको थियो । मलङ्गवा नगरपालिकाको पुरानो दमकल बिग्रिरहने गरेकाले जिल्लामा कहीँकतै आगलागी हुँदा हरिवनकै दमकल दौडाउनुपर्ने अवस्था रहेको थियो ।
तर अब जेनजी प्रदर्शका क्रममा दमकलसमेत जलाइएपछि सर्लाहीमा अब आगलागी हुँदा नियन्त्रणका लागि दमकलको अभाव खड्किने भएको छ । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले जेनजीको नाममा अराजक समूह प्रवेश गरेर दमकल र फोहोर बोक्ने ट्याक्टरमा धरी आगजनी गरेको गुनासो गर्नुभयो ।
दमकलको सेवा बन्द हुँदा यहाँ कयौं व्यक्तिको घर, पसल जल्ने अवस्था आएको नगरप्रमुख बुढाथोकीको भनाइ छ । “आगलागी भएको ठाउँमा एक-दुई मिनेट मात्रै ढिलोगरी दमकल पुग्दा चालकलाई कुट्ने, जनप्रतिनिधि र कर्मचारीलाई गालीगलौच गर्ने हुन्थ्यो” नगरप्रमुख बुढाथोकीले भन्नुभयो, “अब त दमकल नै नभएपछि कति मान्छेका घर, पसल जल्ने हुन भन्ने ठेगान छैन ।”
नगरप्रमुख बुढाथोकीले दमकलमा सुरुमा ढुङ्गामुढा मात्रै प्रहार भएको र पछि फेरि आएर आगजनी गरिएको जानकारी दिनुभयो । उहाँले दमकलमा आगजनी गर्नेहरु जेनजी मात्रै नभएर आपराधिक मानसिकता भएका व्यक्तिहरु समेत सामेल रहेकाले निष्पक्ष छानबिन गरी कारबाही गरी क्षतिपूर्ति भराउन माग गर्नुभएको छ ।
सात वर्षअघि सङ्घीय सरकारले हरिवन नगरपालिकालाई उपलब्ध गराएको दमकल सञ्चालनका लागि लालबन्दी, बागमती, हरिपुर, ईश्वरपुर र बरहथवा नगरपालिकाले पनि केही वर्षदेखि साझेदार बनेर वार्षिक केही रकम प्रदान गर्ने गरेका थिए । नगरपालिका कार्यालले दुई जना चालक र नगर प्रहरी खटाएर दमकलको सेवा प्रदान गर्दै आइरहेको थियो ।
बिग्रिएको समयमा लाखौँ खर्च उठ्दा पनि नगरपालिका आफैँले मर्मत गरेर दमकलको सेवा प्रदान गर्नुपर्ने अवस्था थियो । आगजनीबाट हरिवनको दमकल जलेपछि सर्लाहीमा अब कहीँकतै आगलागी हुँदा नियन्त्रणका लागि मलङ्गवा नगरपालिकाको अत्यन्त जीर्ण दमकलको भर पर्नुपर्ने अवस्था आएको छ ।
प्रदर्शनकारीले जुनसुकै बेला तुरुन्त आवश्यक पर्ने दमकलसमेत जलाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आगजनीमा संलग्नलाई कारवाही गरी दमकलको सेवा पुनः सुचारु गर्नुपर्ने धेरैको माग छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले पालिका र अन्य सरकारी कार्यालय तथा अत्यावश्यकसहितका सवारी साधनमा आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । आगजनी गर्ने व्यक्तिहरुमाथि कारबाही गर्न फोटो, भिडियोसमेत सङ्कलन गर्ने काम गरिरहेको डिएसपी राईको भनाइ छ ।
डिएसपी राईले सरकारी तथा निजी सम्पत्तिमा आगजनी गर्नेहरुको प्रमाण सङ्कलन भएपछि कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त सबैतिरबाट विवरण लिने काम नै हुँदै छ । त्यसपछि विभिन्न माध्यमले फोटो, भिडियोमा कैद भएका आगजनी गर्ने व्यक्ति पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने छौँ ।”