• २ असोज २०८२, बिहिबार

विपत् व्यवस्थापन सामग्री अभाव

blog

जलेर नष्ट भएको भरतपुर महानगरपालिकाको वारुणयन्त्र ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असोज २ गते  । जिल्लाका स्थानीय तहमा रहेको विपत् उद्धार सामग्री जलेर नष्ट भएपछि सङ्कट आउने भएको छ । आन्दोलनका व्रmममा पालिकामा रहेका विपत्जन्य घटनामा उद्धार तथा सहयोग  सामग्री जलेर नष्ट भएपछि यस्तो अवस्थामा उत्पन्न भएको हो । 

एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका रहेको चितवनमा माडी नगरपालिका मात्र आन्दोलनमा जोगिएको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा रहेका उद्धारका सामग्री जलेका छन् । महानगरपालिकामा रहेको तीन वटा वारुणयन्त्रमध्ये दुई वटा जलेर खरानी भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, “दमकल जलेको छ, अन्य उद्धारका सामग्री पनि जलेका छन् । यस्तो अवस्थामा हामीले कुनै विपत् आएमा उद्धार गर्न सक्ने अवस्थामा छैनौँ । पश्चिम चितवनका लागि भनेर राखिएको एउटा दमकल मात्र जोगिएको छ ।”

महानगरमा रहेका तीन वटा दमकलमध्ये एउटा अत्याधुनिक र नयाँ थियो, त्यो पनि जलेको छ । भरतपुर–२० मा भएको दमकल नेपाली सेनाले जोगाएका कारण जल्नबाट जोगिएको दमकल शाखा प्रमुख देवेन्द्र रेग्मीले बताउनुभयो । महानगरको सरसफाइ गर्ने बु्रमर, ग्रेडर, ट्याक्टर, जेसिबीलगायतका सम्पूर्ण सामग्री जलेका छन् । महानगरको दमकल, डोजरसहित हेभी इक्युपमेन्ट १३ वटा जलेका छन् । त्रिपाल, डोरी र अन्य सामग्री पनि जलेको कार्यालयले जानकारी दिएको छ । तत्काल कुनै किसिमको विपत् आइहालेमा उद्धार गर्न सक्ने अवस्था नभएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

चितवनको रत्ननगर, खैरहनी, कालिका, राप्ती र इच्छाकामनाले खरिद गरेका विपत् सामग्री पनि जलेर खरानी भएका छन् । चार वटा पालिकाले खरिद गरेर खैरहनीमा राखेका दुई वटा दमकल प्रहरीसँग भएकाले आगजनी हुनबाट जोगिएको छ । खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले दुई दमकलबाहेक पालिकामा सबै विपत् सामग्री जलेर नष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीसँग भएका कारण दुई वटा दमकल जोगियो, अन्य उद्धारका सामग्री सबै तोडफोड र आगजनीमा परेका छन् ।” 

पूर्वी चितवनमा कुनै विपत्को अवस्था आएमा स्थानीय सरकारबाट उद्धार गर्न सक्ने अवस्था नभएको पौडेलले भन्नुभयो । 

कालिका नगरपालिकाका विपत् शाखाका राजेश कोइरालाका अनुसार ग्रेडरमा क्षति भएको छ । पृथ्वी राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिकाको विपत्का सामग्रीमा आगजनी भएपछि उद्धार गर्न नसकिने भएको हो । जिल्लाको घना बस्ती भएको भरतपुर, नारायणगढ, नवलपरासीको गैँडाकोटसम्म भरतपुर महानगरपालिकाले विपत् उद्धार गर्दै आएको थियो । उद्धारका सामग्री नष्ट भएपछि आगामी दिनमा समस्या पर्दा समाधानको उपाय खोज्ने विषयमा चिन्ता उत्पन्न भएको छ ।