• २ असोज २०८२, बिहिबार

निर्यात व्यापारमा उत्साह

blog

उत्पादन उपभोक्तासँग पु¥याउने आधार व्यापार हो । उत्पादन नभई व्यापार हुँदैन सेवा क्षेत्रमा नवीनतम सोचको सिप, क्षमताले व्यापारमा गतिशीलता ल्याउँछ । आर्थिक क्रियाकलापको उत्पादनपछिको अग्र स्थानमा व्यापार रहेको र अन्तर्राष्ट्रिय स्तरमै व्यापार राजनीतिक एजेन्डामा समेत बन्न थालेको छ । माग र आपूर्तिबिच मूल्य प्रभाव र गुणस्तरका आधारमा व्यापार हुनुपर्नेमा अमेरिकामा डोनाल्ड ट्रम राष्ट्रपतिमा पुनरागमनपछि व्यापारमा पनि राजनीतिक प्रभाव देखियो । अमेरिकामा आयात हुने वस्तुलाई अमेरिकाको हित र प्रभाव हेरी आयात शुल्क लगाउने अभियान नै जारी छ । माग एवं मूल्य प्रभाव, गुणस्तर आधारमा व्यापार हुने सिद्धान्त रहेको भए पनि ‘नो एड वट ट्रेड’ अर्थात् सहायताभन्दा व्यापारको पहुँच देऊ भन्‍ने अभियान पनि छ । हाल विश्व व्यापारमा आयात शुल्कको होडबाजीले नकारात्मक प्रभाव पर्न थालेको र केहीलाई फाइदा हुने देखिएको छ ।

नेपालको निर्यात व्यापार २०७८/७९ मा दुई खर्ब पुगेको थियो । २०७९/८० मा एक खर्ब ५७ अर्ब, २०८०/८१ मा एक खर्ब ५२ अर्ब कटेको थियो । २०८१/८२ मा दुई खर्ब ७७ करोडको निर्यात व्यापार भई गत वर्षको निर्यात व्यापार करिब ८२ प्रतिशतले बढेको तथ्याङ्क समाचारमा आए तर निर्यात दिगो हुनेमा भने सुनिश्चितता देखिँदैन । निर्यात व्यापारको बढी हिस्सा भटमासको तेल हुनु नेपालको निर्यात व्यापारको सुखद पक्ष मान्नु पर्छ । नेपालले भूपेरिवेष्टित र अल्प विकसित देशका कारण निर्यात व्यापारका लागि शून्य आयात शुल्क र सहुलियत भन्सार सुविधा पाएको थियो । अमेरिका र चीनसहित केही देशले केही वस्तुमा शून्य वा सहुलियत भन्सार सुविधा दिएका थिए । त्यो सुविधा उपयोगमा भने नेपालको कमजोर अवस्था देखियो । निर्यात हुने वस्तुको सम्भाव्य छनोट नहुनु, छनोटमा परेका वस्तु उत्पादनमा ध्यान नजानु, निर्यात सहज हुने वस्तु शून्य भन्सार सहुलियतमा नपर्नु एवं निर्यातका लागि व्यापार कूटनीति कमजोर देखिनु मुख्य समस्या रहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिका निर्यात हुने वस्तुमा नेपाललाई १० प्रतिशत आयात शुल्क लिने व्यवस्थाले नेपाललाई निर्यात प्रोत्साहन हुन पुग्ने अनुमान गरिएको छ । छिमेकी देश चीनलाई ३५ र भारतलाई ५० प्रतिशतसहित बङ्गलादेश र कम्बोडियालाई पनि बढी आयात शुल्क लगाउने अमेरिकी नीतिले नेपालको निर्यात व्यापार बढोत्तरी हुने सम्भावना छ । छिमेकी देशको भन्दा कम शुल्कको सुविधाले छिमेकी देशका लगानीकर्ता नेपालमा लगानी गर्न आकर्षित हुने सम्भावना रहेको छ । अमेरिका निर्यात हुने वस्तुमा कम शुल्कका कारण प्रतिस्पर्धा गर्न सक्ने आधारले पनि लगानी गर्ने अवसर बढ्ने अनुमान गर्न सकिन्छ । अमेरिकाको आयात शुल्क दिगो हुने विषयमा भने स्पष्टता छैन । हालै भारतले जिएसटीको पाँचदेखि २८ प्रतिशत एवं विशेषमा ४० प्रतिशतसम्म दरलाई परिवर्तन गरी पाँचदेखि १८ प्रतिशत कायम गरेको छ । प्रस्तुत नयाँ व्यवस्थाले उपभोक्तालाई लाभ हुने तर छिमेकी देशको मालसमान सस्तो हुँदा आन्तरिक उत्पादनमा मूल्य घटेका कारण प्रतिस्पर्धा क्षमता ह्रास भई अर्थतन्त्रमा असर पर्न सक्ने अनुमान छ ।

नेपालले गत आवमा भटमासको तेल निर्यात हुनु कृषिप्रधान देशका लागि सुखद पक्ष हो । कृषिको प्रचुर सम्भावना भएको भटमासको उत्पादन बढाउन जरुरी छ । भटमासको तेलको उत्पादन र प्रशोधन एवं प्याकेजिङका कामले आर्थिक गतिविधि बढ्न गई रोजगारी वृद्धि हुने सम्भावना रहन्छ । राष्ट्रिय कृषि नीति तथा कार्यक्रममा भटमास खेतीमा जोड दिई उत्पादन बढाउन सरकारको सक्रियता हुनु पर्छ । नेपाल र चीनबिच भएको व्यापार सम्झौतामा नेपालबाट भैँसीको मासु निर्यात गर्ने अवसर उपयोगका लागि भैँसी फार्म सञ्चालन गर्न प्रोत्साहन गरी रोजगारीका अवसर र आयआर्जनका दिगो स्रोत बनाउन सकिन्छ । नेपालको तयारी पोसाक, गलैँचा, हस्तकलालगायतका सामानको अन्तर्राष्ट्रिय माग बढाउन वर्तमान अमेरिकी शुल्क नीतिको फाइदा लिन उपयुक्त निर्यात व्यापार रणनीतिको आवश्यकता छ । अन्य देशमा वस्तु व्यापार बढाउन व्यापार वार्ता एवं मेलामा सहभागी भई उत्पादित वस्तुको प्रवर्धन गर्नु पर्छ । विश्वको दोस्रो अर्थतन्त्र भएको चीन र पाँचौँ अर्थतन्त्र भएको भारतसँग नेपालले व्यापार तथा पारवहन सम्झौताको अवसरको उपयोग गरी माग बढी र प्रतिस्पर्धा कम भएका वस्तु निर्यात गर्न उत्पादन बढाउन प्रयत्न गर्नु पर्छ ।

निर्यात व्यापार प्रवर्धन गर्न केही प्राविधिक विषयमा पनि ध्यान दिन आवश्यक छ । व्यापारमा देखिने गैरभन्सार अवरोधले पनि लागत बढ्न गई प्रतिस्पर्धा गर्ने क्षमता कमजोर बनाउँछ । ढुवानीमा हुने अवरोध, प्रशासनिक झन्झट, समय व्यवस्थापन जस्ता विषय व्यापार अवरोध गर्ने तìव हुन् । यी विषयमा सुधार नगरे निर्यात व्यापार खर्चिलो भई प्रतिस्पर्धा क्षमतामा ह्रास हुन जान्छ । भन्सार अवरोधका विभिन्न शुल्कका कारण वस्तु व्यापारको लागत बढ्न गई प्रतिस्पर्धामा ह्रास आई निर्यात व्यापार कमजोर हुन पुग्छ । छिमेकी मुलुक चीन र भारतको बजारसँग नेपालको उत्पादनलाई जोड्न नवीनतम सोचसहित प्रतिस्पर्धात्मक क्षमताको आधार बढाउने विषय ओझेलमा परेको छ । 

मूल्य लागत र गुणस्तरको सुनिश्चितता गरी छिमेकीसँगको व्यापार बढाउन सके दिगो प्रतिफल प्राप्त गर्न सकिन्छ । विश्व व्यापार सङ्गठन र अन्य क्षेत्रीय सङ्गठनसँगको व्यापार समझदारीको अक्षरशः पालना गर्ने र कृषि, खानी, सेवा क्षेत्र जन्य उत्पादनका अवसरको भरपुर उपयोग गरी निर्यात व्यापारको दिगो विकासमा राज्य निजी क्षेत्रसँगै लाग्नुपर्ने हुन्छ । व्यापार सूचना र प्रवर्धन गर्न वार्ता एवं निजी क्षेत्रको क्षमता विकास र सक्रियता बिनानिर्यात व्यापार बढाउन सकिँदैन । राज्यले यसका लागि अभिभावकीय भूमिकासहित सहजीकरण गरी अवरोध तथा चुनौती सामना गर्न आन्तरिक सुधारको खाँचो छ ।

निर्यात व्यापारका लागि व्यापार अवरोध नहुने वातावरण बनाउने, व्यापार पूर्वाधारका लगानी बढाउने, निर्यात बढाउन र आयात प्रतिस्थापन गर्ने वस्तुको उत्पादनका लागि निजी क्षेत्रको सक्रियता बढाई उत्साह ल्याउनु पर्छ । व्यापार कूटनीति प्रभावकारी र भूपरिवेष्टितलाई भूजडित बनाउने, अल्पविकसित देशको नैसर्गिक अधिकारको पक्षपोषण गर्ने र छिमेकी देशको आर्थिक विकासको फाइदा लिने जस्ता महìवपूर्ण काममा राज्यको कडा मेहनतको खाँचो छ । अर्थतन्त्र बलियो बनाउन निर्यात व्यापारमा जोड दिने राष्ट्रिय नीति हुन पर्छ । व्यापार प्रवर्धन गर्न प्रत्यक्ष र परोक्ष रूपमा जिम्मेवारी एवं जवाफदेही बन्न निजी क्षेत्रको सक्रियता बढाउन आवश्यक छ । 

व्यापार कूटनीतिबाट लागत लाभसहित व्यापारका अवसरमा निजी क्षेत्रलाई जोड्न एवं लाभ लिन क्षमता वृद्धि गरी विश्व बजारको मागमा सहभागिता बढाउन नीतिगत सुधारको खाँचो छ । निर्यात व्यापार गत वर्षभन्दा करिब ८२ प्रतिशतले बढ्नु, कृषिप्रधान देश भएकाले भटमासको तेलको निर्यात बढी देखिनु तथा चीनसँग भैँसीको मासु निर्यात गर्ने अवसर प्राप्त हुनु, अमेरिकाले आयात शुल्क लगाउने रणनीतिमा नेपाल कम शुल्कको सूचीमा पर्नु, छिमेकी देशलाई बढी आयात शुल्क लगाउनु, शून्य र सहुलियत भन्सार सुविधा जस्ता निर्यात व्यापारका अवसर उपयोग गर्ने व्यापार नीति आवश्यक छ । निर्यात व्यापारका लागि सकारात्मक सोचको सरकारी संयन्त्र, प्रभावकारी व्यापार कूटनीति जस्ता विषयमा हाम्रो क्षमता बढाउन जरुरी छ । व्यापार घाटा बढ्दै जानु परनिर्भरता बढ्नु शासकीय व्यवस्थाका लागि चुनौती पनि हो । माग सिर्जना, गुणस्तरीय एवं प्रतिस्पर्धी उत्पादन, सहज आपूर्ति र दिगो व्यापार सम्बन्ध आजको आवश्यकता हो । 

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न हाल देखिएको निर्यात तथ्याङ्कले कृषि क्षेत्रको उत्पादनमा जोड दिन दबाब दिएको छ । भटमासको तेलको निर्यात बढी देखिनु र चीन सरकारसँग भैँसीको मासु निर्यात गर्ने अवसर प्राप्त हुनु कृषिप्रधान देशका लागि सुखद क्षण हो । अन्य उत्पादन तयारी पोसाक, गलैँचा, हस्तकलाका समानलगायतका नियातका वस्तुको प्रतिस्पर्धी क्षमता बढाउन लागत घटाई प्रभावकारी व्यापार वार्ता र सम्झौताका लागि व्यापार कूटनीति नतिजामुखी बनाउने, व्यापार प्रवर्धनका लागि मेला महोत्सवमा सहभागिता र उत्पादित वस्तुको सेभ गार्डमा सर्तक हुने काममा राज्यको सक्रियता आवश्यक छ । व्यापारको मुख्य भूमिकामा निजी क्षेत्र अग्रसर भई वस्तु व्यापारको विविधीकरण गरी आन्तरिक उत्पादनमा अब्बलता देखाइ लाभ लिनु पर्छ । छिमेकी देशको आर्थिक विकासको फाइदा लिन र अमेरिकाको आयात शुल्कको प्रभावको लाभ लिन रणनीतिक सक्रियता देखाउन आवश्यक छ । व्यापारमा अन्तर्राष्ट्रिय पहुँच बढाई दिगो निर्यात व्यापारमा ध्यान दिनु आजको आवश्यकता हो । 

Author

भरत गौतम