• २ असोज २०८२, बिहिबार

तनहुँमा आजबाट नागरिकता प्रदान गरिने

blog

भग्नावशेष सफाई पछि जिल्ला प्रशासन कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज २ गते ।
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबारबाट नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपी सेवा सुरु गर्ने भएको छ । ‘जेनजी’ आन्दोलनले कार्यालय गत मङ्गलबार पूर्ण रुपमा ध्वस्त भएकोले अवरुद्ध भएको काम आजबाट आंशिस रुपमा सुरु गर्ने भएको हो ।

प्रशासनिक सेवा प्रभावित नहोस् र जनतालाई ढिला नगरी सेवा दिइयोस् भन्ने उद्देश्यले कार्यालयका भग्नावशेष आजबाट सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट कार्यालयको भौतिक संरचना, कार्यालय उपकरण, फर्निचर तथा अभिलेखहरु जली नष्ट भएकोले सेवा अबरुद्ध भएको थियो । असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्ने तयारी भइरहेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

शान्ति सुरक्षा सम्बन्धित सेवाहरु कार्यालयबाट नियमित रुपमा सम्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘आदिवासी-जनजाति, दलित, खस आर्य तथा मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणितसम्बन्धी सेवाहरु आजबाट सुरु हुन्छ ।’’ श्रेष्ठका अनुसार राहदानीसम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागको सम्पर्क नं. ०१– ५९७०३३० मा सम्पर्क गरी जानकारी लिन तथा राहदानी विभागबाट कम्प्युटर लगायतका विद्युतीय राहदानीका लागि आवश्यक उपकरणहरु कार्यालयमा प्राप्त भए पश्चात राहदानी सम्बन्धी सेवा सञ्चालन गरिनेछ ।

यस्तै, राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सम्पर्क नं. ०१–४२०००१४, ०१–४२११५६३ वा सूचना अधिकारीको सम्पर्क नं. ९८५१३५७३६२ मा सम्पर्क गरी जानकारी लिन, साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण दर्ताका लागि आवश्यक पर्ने कम्प्युटर लगायतका उपकरणहरु कार्यालयमा प्राप्त भए पश्चात राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।  

व्यास नगरपालिका–५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गण (इ), भानु नगरपालिका–२ नारेश्वटारस्थित सशस्त्र प्रहरी बल मनकामना गण, जिल्ला प्रहरी कार्यालय तनहुँका सुरक्षाकर्मी र कार्यालयका कर्मचारीहरूको सक्रियतामा क्षतिग्रस्त सामग्री हटाइएको छ । कार्यालयभित्रका कागजात,  फर्निचर,  विद्युत उपकरण लगायतका जलेर खरानी भएका छन् । भवनका पिल्लर, ढलान र भित्ताहरू भने काम लाग्न सक्ने देखिएकाले इन्जिनियरमार्फत परीक्षणपछि पुनः प्रयोगका लागि निर्णय लिइने तयारी भइरहेको कार्यालयले जनाएको छ ।