अमरराज नहर्की
तनहुँ, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा तनहुँको भानु नगरपालिका निवासी एक युवकको मृत्यु भएपछि भानुवासी मर्माहत भएका छन् । भानु नगरपालिका–१२, कवाचित स्थायी घर भई काठमाडौँ बनस्थलीमा बस्दै आउनु भएका २६ वर्षीय इश्वतबहादुर अधिकारीको निधन भएपछि भानुवासी शोकमा डुबेका हुन् ।
पिता नेपाली सेनाका पूर्व इश्वरबहादुर अधिकारी र आमा अन्जना थापाको कान्छो छोरा इश्वत सानैदेखि सामाजिक काममा सक्रिय भएर लाग्ने स्वभावको भएको स्थानीय बताउछन् । हजुरबुवा भीमबहादुर अधिकारी गाउँसेवा कोषका संस्थापक अध्यक्ष हुनुभएको हजुरबुवाको सामाजिक योगदानबाट प्रेरित इश्वतले पनि समाजसेवामा जीवन समर्पित गर्नुभएको भानु नगरपालिकाको उपप्रमुख उमा गोतामे जानकारी दिनुभयो । गोतामेले भन्नुभयो, ‘‘हजुरबुबाबाट प्रभावित भएर समाजप्रति समर्पित र जिम्मेवार भावका व्यक्ति हुनुहुन्थ्यो । उहाँको बलिदानले हामी सबैलाई गहिरो पीडा दिएको छ ।’’ उहाँको योगदान र स्मृति सधैँ भानुवासीको मनमा जीवित रहने उहाँको भनाइ छ ।
स्थानीय बासिन्दा कुशलचन्द्र अधिकारीले भन्नुभयो, “इश्वतको निधनले हाम्रो गाउँ स्तब्ध भएको छ उहाँको सरल स्वभाव, समाजप्रति समर्पण र मद्दतको भावना कहिल्यै भुल्न सकिन्न । आज गाउँभरि आँसु झरेको छ ।” गाउँलेहरूले उहाँको सम्झनामा दीप प्रज्वलन गर्दै शोक व्यक्त गरेको अधिकारीले जानकारी दिनुभयो । सोही वडा निवासी देवेन्द्र थापाले भन्नुभयो, “गाउँमा आज कसैको पनि आँखा ओभानो छैन, सबैजना पीडामा छन् । इश्वतको भदौ २३ गते गोली लागेर काठमाडौँमा घटनास्थलमै निधन भएको थियो ।
ज्येष्ठ नागरिकलाई मासिक भत्ता दिनु पर्छ भन्ने अवधारणा संस्थागत रूपमा भिमहादुरले नै अगाडि ल्याउनु भएको थियो । उहाँकै प्रयासमा २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पालामा वृद्ध भत्ता १०० रुपियाँ भत्ता दिनु पर्छ भन्ने बारे थुप्रै तयारी गरिएको थियो तर कांग्रेसले यसको महत्त्व बुझ्न सकेन । त्यस पछिका अर्थ मन्त्री भरत मोहन अधिकारीलाई उहाँले यसको महत्त्वबारे जानकारी गराउनुभयो । अर्थ मन्त्री यस्तै लोकप्रिय कार्यक्रमको खोजीमा थिए । त्यही वर्षदेखि वृद्ध भत्ता कार्यक्रम सुरू भयो ।