रामकृष्ण बोहरा
बागलुङ, असोज २ गते । पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका ६२ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भएका छन् । भिमगिठे र खहरे टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिएको छ ।
उन्सत्तरी टोल रहेको बडिगाडमा हालसम्म ६२ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भइसकेको र बाँकी सात टोललाई पनि छिट्टै पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिने अभियानका स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक शेरबहादुर बुढाले जानकारी दिनुभयो ।
२०७९ माघ २ गतेबाट गाउँपालिकालाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा अभियान शुरु भएको थियो । बुढाका अनुशार, हालसम्म वडा नं. १ दगातुम्डाँडाका ६, वडा नं. २ खर्बाङका का २, वडा नं. ३ सिसाखानीका ६, वडा नं. ४ जलजलाका ९, वडा नं. ५ ग्वालीचौरका ९ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भइसकेका छन् भने खर्बाङका ३ र सिसाखानीका तीन टोल घोषणा हुन बाँकी छन् ।
यस्तै, वडा नं. ६ खालका चार, वडा नं. ७ भीमगिठेका सात, वडा नं. ८ रणसिंकिटेनीका दश, वडा नं. ९ दर्लिङ खोलाका पाँच र वडा नं. १० दर्लिङका चार टोल पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा हुँदा वडा नं. १० दर्लिङको एउटा टोल घोषणा हुन बाँकी छ ।
टोल, वडा र पालिकाले पुरा गर्नुपर्ने तोकिएका सुचक पूरा गर्न विभिन्न अभियान बडिगाडमा सञ्चालित छन् । स्रोतव्यक्ति बुढाले भन्नुभयो, ‘‘तोकिएका सुचक पूरा भएसँगै अहिले हामी टोल घोषणाको अन्तिम चरणमा छौं ।’’ सबै टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिरहेको बडिगाडलाई आगामी २०८३ चैत मसान्तभित्र पूर्ण सरसफाई तथा पोषणमैत्री पालिका घोषणा गर्ने कार्यक्रम रहेको छ ।
यसअघि बडिगाड गाउँपालिका २ स्थित गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । ४३ घरपरिवारका दुई सय ४० जना लाभान्वित भएको आयोजनाको कुल लागत २६ लाख ४२ हजार रुपियाँ छ । नेवाको १५ लाख ६५ हजार, गाउँपालिकाको ४ लाख ७२ हजार तथा ६ लाख ४ हजार रुपियाँ बराबरको जनश्रमदानमा खानेपानी स्वच्छता तथा सरसफाई आयोजना सञ्चालनमा आएको हो ।