• ३१ भदौ २०८२, मङ्गलबार

कञ्चनपुरका तीन पालिकामा सेवा अनिश्चित

blog

भवानीदत्त भट्ट
कञ्चनपुर, भदौ ३१ गते ।
कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ  तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन् । ९ स्थानीय तह रहेका कञ्चनपुरमा तीन पालिकामा पूर्णरुपमा क्षति पुग्दा सेवा प्रवाह अनिश्चित बनेको हो ।

जेनजी समूहको आन्दोलनमा भएको घुसपैठका कारण यहाँका पुर्नवास नगपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । आन्दोलनकारीहरूले पुर्नवास नगरपालिका र कृष्णपुरमा अत्यधिक क्षति पुर्‍याएका छन् भने शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा पनि केही क्षति पुगेका छन् ।

पुर्नवास नगरपालिका अधिकांश वडा कार्यालयहरु र नगरपालिका कार्यालयमा आन्दोलनकारीहरूले गरेको आगजनीका कारण अत्यावश्यक कागजातहरू जलेर नष्ट भएको पालिकाका सूचना अधिकारी धौल शार्कीले बताउनुभयो । “आन्दोलनकारीले गरेको आगजनीका कारण पालिकाका सबै शाखा जलेर नष्ट भएका छन्,’’ उहाँले भन्नुभयो, ‘‘सफाइ गर्न झण्डै दुई साता जति लाग्न सक्छ ।”

पालिकामा सफाइ सुरु गरिएको सूचना अधिकारी शार्कीले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा पालिकामा अत्यधिक लुटपाट समेत भएको बताइएको छ । सूचना अधिकारी शार्कीका अनुसार, पालिकामा बचेका कम्प्युटर, ल्यापटप, कुर्सी, लगायतका सामग्री चोरी भएका छन् । केही चोरी भएका सामग्री भने फिर्ता ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

“कार्यालय भित्र कागजपत्र जलेको धुलो नै धुलो छ,’’ उहाँले भन्नुभयो, ‘‘१५ लाखभन्दा बढीको फर्निचर मात्रै जलेर नष्ट भएका छन् ।” आन्दोलनकारीहरूले गरेको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको उहाँले बताउनुभयो । नगरपालिका सञ्चालनका लागि अझै दुई साता बढी लाग्ने सूचना अधिकारी शार्कीले बताउनुभयो ।   

यसैगरी, आन्दोलनकारीहरूले कृष्णपुर नगरपालिकामा पूर्णरुपमा क्षति पुर्‍याउँदा पालिका सञ्चालनमा आउन सकेको छैन । आन्दोलनकारीहरूले नगरप्रमुख हेमराज ओझाको कार्यकक्ष, योजना शाखा, भूमि इकाई, स्वास्थ्य शाखा र शिक्षा शाखा आगजनी गर्दा कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताउनुभयो । आन्दोनकारीहरुले पालिकामा लगाइएका एसी, पङ्खा, सिसा तोडफोड गर्नुका साथै ५ मोटरसाइकल जलेर नष्ट भएको उहाँले बताउनुभयो । हाल पालिकामा सरसफाई तथा क्षतिको विवरण सङ्कलनको काम भइरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, पालिकाबाट सेवा सुचारु गर्न अझै साता दिन लाग्ने छ । यहाँ स्थित वडा कार्यालयहरू भने आइतबारदेखि सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

आन्दोनलकारीहरुको समूहले शुक्लाफाँटा नगरपालिकामा केही क्षति पुर्‍याएका छन्, भने पालिकास्थित वडा नम्बर १,७ र ९ वडा कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी मोहन फुलाराले बताउनुभयो । पालिकास्थित तीन वडा कार्यालयमा पूर्णरुपमा क्षति पुगेको बताउनुहुँदै सूचना अधिकारी फुलाराले क्षतिको विवरण सङ्कनको काम भइरहेकाले आगामी आइतबारपछि नगरपालिकाले कामकाज सुरु गर्ने गरी तयारी अगाडि बढाइएको बताउनुभयो । कञ्चनपुरका ६ स्थानीय तह भने पूर्णरुपमा सञ्चालनमा आएका जनाइएको छ ।