• ३१ भदौ २०८२, मङ्गलबार

सिमकोट गाउँपालिका उत्कृष्ट

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ ३१ गते ।  अघिल्लो आर्थिक वर्षमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले गरेको वार्षिक समीक्षामा निर्धारित आठ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा सिमकोट गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको हो । जिल्लाका सात वटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिका आव २०८१/८२ मा उत्कृष्ट ठहरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनुभयो ।

उहाँका अनुसार आठ वटा सूचक र २४ वटा उपसूचकका आधारमा मूल्याङ्कन गर्दा गाउँपालिकाका स्वास्थ्य शाखाको स्तर निर्धारण गरिएको हो । यसरी गाउँपालिकाका स्वास्थ्य शाखाको स्तर निर्धारण गर्ने सूचकमा खोप कार्यक्रम, परिवार योजना कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम, पोषण कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, ओपिडी तथा प्राथमिक स्वास्थ्य सेवा, अभिलेख, प्रतिवेदन तथा तथ्याङ्क गुणस्तर, डिजिटल हेल्थ र अन्य रहेका छन ।