सिँजा समाचारदाता
सिँजा (जुम्ला), भदौ ३१ गते । जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यममा अध्ययनरत ९५ प्रतिशत विद्यार्थीलाई अर्धवार्षिक परीक्षामा सहभागी हुन रोकेको छ । शुल्क नतिरेका विद्यार्थीलाई परीक्षा दिन विद्यालयले रोकेको हो । अङ्ग्रेजी माध्यममा अध्ययनरत पाँच प्रतिशत विद्यार्थी मात्र परीक्षामा सहभागी भएका छन् । भदौ ३० गतेदेखि सञ्चालन भएको अर्धवार्षिक परीक्षामा नेपाली माध्यमका विद्यार्थी परीक्षामा सहभागी भएका छन् । प्रधानाध्यापक टङ्क महतका अनुसार एक महिनाअघिदेखि नै अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई शुल्क तिर्न ताकिता गरिएको थियो तर विद्यार्थीले अटेरी गरेपछि परीक्षामा सहभागी गराउन नसकिएको उहाँले बताउनुभयो ।
उहाँले कक्षा ६ देखि १० सम्म सञ्चालनमा रहेको अङ्ग्रेजी माध्यममा करिब छ सय विद्यार्थी अध्ययनरत छन् । उनीहरूमध्ये करिब पाँच प्रतिशतबाहेक अरूले शुल्क नतिरेको हुनाले परीक्षामा सामेल गराउन नसकिएको उहाँको भनाइ छ । देशभरका सामुदायिक विद्यालयले शुल्क लिएर अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका छन् । उहाँले भन्नुभयो, “अङ्ग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीका अभिभावकबाट समेत दबाब आएकाले बन्द गर्ने अवस्थामा पुगेका छौँ । धेरै अभिभावकले सामुदायिक विद्यालयमा किन शुल्क लिएर अध्ययन गराएको भनी प्रश्न गरेका छन् । निजी स्रोतबाट राखिएका शिक्षकको सेवा सुविधा दिने स्रोत विद्यार्थी हुन् । विद्यार्थीले नै शुल्क दिन अटेरी गरी परीक्षा दिन खोजेको हुनाले रोकिएको हो ।”
यता चन्दननाथ माध्यमिक विद्यालय कक्षा ७ मा अङ्ग्रेजी माध्यममा अध्ययनरत छात्रा शिवलक्ष्मी सुनार र कान्तिका सुनारले परीक्षा दिनबाट विद्यालयले रोकेको बताउनुभयो । उनीहरूका अनुसार अरूले परीक्षा दिइरहँदा आफूहरू घर फर्किनु परेको बताउनुभयो । चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागार्इंले सामुदायिक विद्यालयले कुनै पनि शुल्क लिन नपाइने बताउनुभयो । शुल्क तिरेको रसिदसहित विद्यार्थीले निवेदन दिएको खण्डमा कारबाही हुने उहाँको भनाइ छ । शिक्षा नियमावली २०५९ मा सामुदायिक विद्यालयले भर्ना तथा सहयोगका नाममा कुनै पनि शुल्क लिन नपाउने प्रावधान छ ।