रामकृष्ण बोहरा
बागलुङ, भदौ ३१ गते । वातावरण संरक्षण, बाढी पहिरो नियन्त्रण र हरियाली बढाउने अभियानअन्तर्गत जिल्लामा एक वर्षमा दर्जनभन्दा बढी विशेष योजना सञ्चालन भएका छन् । गत आर्थिक वर्ष मात्र बागलुङमा ६ वटा हरियाली पार्क, ६ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ भने हरियाली बढाउन वरपिपल र समी रोपिएको हो ।
पछिल्लो समय वरपिपलका रुख मासिएको, पानीका स्रोत सुक्दै गएको र हरियाली कम भएकाले तीन आर्कषक चौतारी निर्माण गरिएको छ । वातावरण संरक्षण गर्न गैरसरकारी संस्थादेखि सरकारी निकायले दिगो प्रकारका बिरुवा रोपणमा ध्यान दिएका छन् ।
डिभिजन वन, भू तथा जलाधार व्यवस्थापन र सामाजिक विकास कार्यालयले ती अभियानमा साथ दिएका हुन् । सिवाईसी नेपालले दिगो वातावरण संरक्षण भन्दै मठमन्दिर र सार्वजनिक क्षेत्रमा वरपिपल रोप्ने काम गरेको छ । सिवाईसीले युवा तथा किशोरकिशोरी समूहमा ‘इको क्लब’ गठन गरेर वातावरण संरक्षणको अभियान चलाइरहेको हो ।
गत आ.व मा डिभिजन वन कार्यालयले वनक्षेत्र बढाउने प्रकृतिका ७५ हजार चार सय ५० बिरुवा उत्पादन गरेर समुदायमा वितरण गरेको छ । ती बिरुवा सामुदायिक वनमा रोपिएको छ । डिभिजन वन अधिकृत सरोज पन्थीले पानीका मुहान सुक्न नदिन वनभित्रै पानीका पोखरी निर्माण गर्दा पानीबाट हरियाली बढाउन सकिने बताउनुभयो ।
कार्यालयमा इन्जिनियर दरबन्दी नहुँदा डिभिजन वनले व्यवस्थित योजना निर्माणको काम भने गर्न सकेको छै । स्थानीय साधन श्रोतबाट बनेका पोखरीबाट पनि वन्यजन्तुका लागि पानीको आपुर्ति गराउन सकिएको पन्थीको भनाई छ । कार्यालयले सामुदायिक वनमा चोरी सिकार रोक्न उपभोक्ता समितिलाई जागरुक बनाउने र वन संरक्षणबारे तालिम दिएको छ । तालिम र सचेतनाका कार्यक्रमले अघिल्लो वर्षको तुलनामा गत वर्षको खडेरी याममा आगलागीका घटनामा कम आएको पन्थीको दाबी छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयले २६ स्थानमा गल्छी र पहिरो संरक्षण गरेको छ । संरक्षणले बाढी पहिरो रोकथाममा सहयोग मिल्ने भूसंरक्षण अधिकृत शम्भुप्रसाद मिश्र बताउनुहुन्छ । ‘‘जलवायु परिवर्तनले नसोचेको स्थानमा बाढी पहिरो आइरहेको छ, विकास गर्दा व्यवस्थापन गर्न नसक्दा विपत्ति बढेको छ’’ मिश्रले भन्नुभयो, ‘‘हरेक विकास बजेटमा १० प्रतिशत संरक्षणतर्फ लगानी गर्ने नीति आवश्यक रहेको छ ।’’
सो बजेटले सडक, सिँचाइ र पूर्वाधार विकासको क्षेत्रमा बायो इन्जिनियरिङको संरक्षणको काम गर्नुपर्ने मिश्रको सुझाव छ । कार्यालयले भू–संरक्षणका लागि अघिल्लो वर्ष ५० र गतवर्ष ३२ योजना सञ्चालन गरेर भू–संरक्षणको काम गरेको छ । वातावरण संरक्षणतर्फ टुक्रे योजना नभइ एकीकृत योजना बनाउने सुझाव अनुसार योजना निर्माण भइरहेको उहाँको भनाइ छ । गल्छी र पहिरो, खोला किनारा, पोखरी र बस्ती तथा विद्यालय संरक्षणलाई प्राथमिकता दिएर योजना बनेकाले सोही अनुसारको काम गरिने मिश्रको भनाइ छ ।
जिल्लामा ८ सय ७२ घर बाढी पहिरोको जोखिममा रहेको विपत व्यवस्थापन समितिको तथ्याङ्कमा छ । ती घरको संरक्षणमा कार्यालयले उचित योजना बनाएर जाने लक्ष्य राखेको छ । समितिका अनुसार, निसीखोलामा चार सय ३८, बागलुङ नगरमा पाँच सय ५४, ढोरपाटनमा तीा सय ९०, गलकोटमा एक सय २५ तथा बरेङमा दुई सय १०, ताराखोलामा एक सय ४४, बडिगाडमा एक सय ६० र काठेखोलामा सात सय २० घर जोखिममा छन् ।