धनगढी समाचारदाता
धनगढी, भदौ ३१ गते । कैलालीका सबै विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । जेनजी आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिका कारण भदौ २५ देखि विद्यालयमा पठनपाठन बन्द थियो । स्थिति सामान्य बन्दै गएपछि चार दिनपछि विद्यालय सञ्चालनमा आएका हुन् । अवस्था सहज बनेकाले सम्बन्धित पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । “जिल्लामा प्रायः सबै विद्यालय सञ्चालनमा आएका छन्,” उहाँले भन्नुभयो, “सम्बन्धित पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न भनेका छौँ ।”
आन्दोलनका क्रममा यहाँका शैक्षिक सङ्घ संस्था र सवारीसाधनमा क्षति नभए पनि कफ्र्यु लागेपछि पठनपाठन स्थगित गरिएको थियो । यसै गरी कैलाली भन्सार कार्यालयले आइतबारदेखि पूर्ण रूपमा सेवा दिन थालेको छ । नजिक रहेको ग्यारेजबाट सो कार्यालयले पूर्ण रूपमा सेवा दिन थालेको हो । खाली रहेको ग्यारेजमा आवश्यक सामग्री सेटअप गरेर ‘फुलफेज’ मा सेवा सुरु गरेको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताउनुभयो ।
“आगजनी हुँदा जल्नबाट बचेका र आवश्यक केही नयाँ सामग्री खरिद गरेर हामीले ‘फुलफेज’ मा सेवा सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “आगजनी भएको कार्यालय पनि सरसफाइ गरेर त्यहाँबाट समेत न्यूनतम सेवा दिने लक्ष्य छ ।” जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भन्सार कार्यालयमा आगजनी गरेका थिए । आगो लगाइएपछि सवारीसाधन, कम्प्युटर, फाइल, दराजलगायतका सबै सामग्री जलेका थिए । आगजनी भए पनि भन्सार कार्यालयले आंशिक रूपमा सेवा दिँदै आएको थियो । यसै गरी कैलाली जिल्ला प्रशासनले पनि सेवा दिने प्रयास गरिरहेको छ । केही विद्यालयले कम्प्युटर, टेबुल सहयोग गरेपछि नागरिकता बनाउनेसम्मको कार्य प्रारम्भ गर्ने जमर्को गरिरहेको सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।