काठमाडौँ, भदौ ३० गते। राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले दीप प्रज्वलन गरेको हो।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिति रहेको थियो।
सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ।
कार्यक्रममा बोल्दै बालअधिकारकर्मी कुमार भट्टराई, प्रलाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेको स्मरण गराउनुभयो।
सहभागीले विद्यालय र बालबालिका शान्ति क्षेत्र कायम गर्नुपर्ने, कुनै पनि आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग नगर्नुपर्ने र राजनीतिक दल तथा युवा पुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा थप सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए।
संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो। नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो।
५० जिल्लामा १०७ सदस्य संस्था रहेको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको स्थापना नै बालबालिकालाई हिंसा, दुर्व्यवहार र शोषणबाट जोगाउने र बालमैत्री नीतिको पैरवी गर्ने उद्देश्यले भएको सिजप महासचिव राजु घिमिरेले जानकारी दिए।