काठमाडौँ, भदौ ३० गते । नेपालमा आगामी वर्ष आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागी हुने सबै टोलीको टुङ्गो लागेको छ ।
इस्ट एसिया प्यासिफिक छनोट खेलमा सोमबार पपुवा न्युगिनीले स्थान बनाएपछि ग्लोबल छनोट खेल्ने टोलीको टुङ्गो लागेको हो ।
ग्लोबल छनोटमा आयोजकसहित नेपाल, आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बङ्गलादेश, नामिबिया र पपुवा न्युगिनी गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल र थाइल्यान्ड एसिया, नेदरल्यान्ड्स र स्कटल्यान्ड युरोप, जिम्बाबे र नामिबिया अफ्रिका, अमेरिकाले अमेरिकी क्षेत्रको छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । बङ्गलादेश र आयरल्यान्ड भने सिधै छनोट भएका हुन् ।
ग्लाेबल छनोट आगामी सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी ५ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने छ । छनोटबाट शीर्ष चार टोलीले इङ्ल्यान्डमा र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।