• ३० भदौ २०८२, सोमबार

टी–२० एसिया कप : पाकिस्तानमाथि भारतको सहज जित

blog

ब्याटिङ गर्दै भारतका तिलक वर्मा । तस्बिर : एपी

काठमाडौँ, भदौ ३० गते । भारतले युएईमा जारी एसिसी टी–२० एसिया कपमा पाकिस्तानमाथि सहज जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हरायो । 

जितका लागि पाकिस्तानले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

भारतका कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाउनुभयो । अभिषेक शर्मा र तिलक वर्माले ३१/३१ र शिवम दुबेले अविजित १० रन बनाउनुभयो । बलिङमा पाकिस्तानका लागि तीनै विकेट साइम अयुबले लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । पाकिस्तानका लागि सहिबजादा फरहानले सर्वाधिक ४० रन बनाउनुभयो ।

यस्तै शाहिन शाह अफ्रिदीले अविजित ३३ रन, फखर जमानले १७, फहिम असरफले ११ र सुफियान मुकिमले १० रन बनाउनुभयो ।

बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिनुभयो । जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई तथा हार्दिक पाण्डेया र वरुण चक्रवर्तीले एक एक विकेट झार्नुभयो । 

समूह ‘ए’ मा रहेको भारतल लगातार दोस्रो जितसँगै चार अङ्क बनाएको छ । पाकिस्तानको समान खेलबाट दुई अङ्क छ ।

भारतले पहिलो खेलमा युएईलाई नौ विकेटले हराएको थियो । पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेको थियो । एजेन्सी