• ३० भदौ २०८२, सोमबार

नवलपुरको थारु समुदायमा जितिया पर्व मनाइँदै

blog

थारु महिलाहरुले झम्टा नृत्य नाच्दै । तस्बिरः ज्ञानु पंगेनी

ज्ञानु पंगेनी

मध्यविन्दु, भदौ २९ गते । थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व  शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन ।  

गएका वर्षहरूमा धुमधामले मनाइने जितिया पर्व यस वर्ष देशमा उत्पन्न विषम परिस्थितिका कारणले प्रभावित बनेको छ । गएका वर्षहरूमा नवलपुरमा जितिया पर्वको मुख्य दिनभन्दा केही दिनअघिबाट नै जितियाको रौनक सुरु हुन्थ्यो । यस वर्ष नवलपुरका थारु समुदायमा जितियाको रौनक छैन । 

यस वर्ष थारु समुदायले घरघरमै जितिया पर्व मनाउँदै छन् । चेलीबेटी बोलाएर घरमा झाम्टा नाची सामूहिक रूपमा मनाइने यो पर्व यस वर्ष घरभित्रै सीमित भएको छ । 

गएका वर्षहरूमा जितिया पर्व आउनभन्दा हप्ता दिनअघिदेखि नै झाम्टा नाच, लाठी नाच लगायत सास्कृतिक कार्यक्रम तथा प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिताहरू  आयोजना गरेर हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइँदै आएकोमा अहिले जेन्जी आन्दोलनले देशमा उत्पन्न अवस्थाका कारण कार्यक्रमहरू आयोजना नगरिएको थारु अगुवा इनरप्रसाद महतोले बताउनुभयो ।  

ठाउँ र समुदाय अनुसार यस पर्व मनाउने चलन केही फरक रहेको थारु अगुवाहरू बताउँछन् । जितिया पर्व मनाउनुको उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण,  पुत्रको सुखशान्ति र चिरायु हो । यस पर्वमा महिलाले उपवास र प्राचीन विधिद्वारा पूजा अर्चना गरी निराहार व्रत बस्ने प्रचलन रहेको महतोले बताउनुभयो । 

तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नुहाएर घिरौँलाको पातमा तेल खँडी चढाउँदै सन्तानको सिरमा तेल दली सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ । त्यसपछि सधवा (सुहागन) महिलाहरूले माछा एवम् कोदोको रोटी खाने र विधवा महिलाहरू भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको अध्यक्ष महतोले बताउनुभयो । 

शाकाहारी महिलाहरूले नजिकको पोखरी, इनार, ताल वा कुवामा स्नान गरी गम्हरी (कोसाभित्रै फल्ने धान) को खिर वा भात खाने गर्दछन् । जितिया पर्वको एका बिहानै महिलाहरु आचमन शुद्धि गरेर घिरौँलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने प्रचलन छ । 

रातिमा घिरौँलाको पातमा चढाएको नैवेद्य स्वरूपको चिउरा, दही फलफूलसहित प्रसादको रूपमा खान दिने गरिन्छ । अन्तिम दिन पारनका दिन बिहानै उठी व्रतालु महिलाहरू नदी, पोखरी, इनार ताल तलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चिउरा, दही, फलफूल खान दिएर जितिया पर्व विधिवत् रूपमा समापन गरिने महतोले बताउनुभयो ।

सार्वजनिक विदा

यसैबिच जितिया पर्वको अवसर पारेर नवलपुरका दुई पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन् । कावासोती र देवुचली नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार परेको जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।