• २९ भदौ २०८२, आइतबार

जेनजी आन्दोलन : निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौँ, भदौ २९ गते । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको मृत्यु, भौतिक क्षति, नेतामाथि भएका आक्रमण, प्रतिनिधिसभा विघटनलगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

कांग्रेसले आइतबार उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा जारी विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका युवाहरू, सुरक्षाकर्मी तथा सम्पत्ति नोक्सानीलाई ‘अत्यन्तै दुःखद र निन्दनीय’ भनेको छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै घटनाको निष्पक्ष छानबिन तत्काल गर्न सरकारले अघि बढ्नुपर्ने माग दोहोर्‍याएको छ ।

विज्ञप्तिमा आन्दोलनको भावना विपरीत भएको अवाञ्छित घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनदेखि विभिन्न राजनीतिक, प्रशासनिक, वित्तीय तथा सञ्चार गृहसम्ममा खर्बौं मूल्य बराबरको संरचना ध्वस्त भएको उल्लेख छ । कांग्रेसले यसबारे सरकारले क्षतिको यथार्थ मूल्याङ्कन प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने आग्रह गरेको छ ।

त्यस्तै, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य नेतामाथि भएको आक्रमणलाई ‘अमानवीय र बर्वरतापूर्ण’ भन्दै भर्त्सना गरिएको छ । विज्ञप्तिमा उहाँहरूलगायत घाइते सबैको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिनिधिसभा विघटनबारे पनि कांग्रेसले आपत्ति प्रकट गर्दै यसलाई ‘पूर्णतः अलोकतान्त्रिक र असंवैधानिक’ कार्य भनेको छ । यस्तो कदमले संविधान, नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र समावेशी राज्य निर्माण गर्ने संविधानको भावना नै कुठराघात भएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले विद्यमान राजनीतिक घटनाक्रममा जनताका भावनालाई सम्मान गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।