शेरबहादुर सार्की
बाजुरा, भदौ २९ गते। बाजुराका स्याउ किसानलाई बेला स्याउ टिप्न चटारो परेको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले गत भदौ २५ गते बिहान ११ बजेदेखि जिल्लामा लगाउँदै आएको कर्फ्यु शनिबारदेखि पूर्णरूपमा हटाएसँगै यहाँका किसानको पनि स्याउ टिप्ने चटारो परेको हो।
देशभर बन्दका कारण स्याउ बारीमै थन्किँदै आएको थियो। गत शनिबारदेखि खुला भएपछि अहिले स्याउ टिप्न सुरु गरेको बुढीनन्दा नगरपालिका–९ का नैन बोहराले बताउनुभयो।
उहाँले भन्नुभयो, “स्याउ उत्पादन गरेर के गर्ने। बजार लिन बाटो छैन। त्यसैमा देशभर बन्द भयो। अहिले बन्द खुलेको छ। तर बाटो भने अझै बन्द छ। बाटो भन्द भए पनि पिठ्युमा बोकेर स्याउ बिक्री गर्ने गरी यती बेला बारीबाट स्याउ टिप्न लागेको छु।”
बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदहलगायत ठाउँमा थोरथोरै मात्रमा स्याउ उत्पादन हुने गरेको भए पनि जिल्लाको पूर्वउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा लगायतका पालिकामा भने स्याउ राम्रो उत्पादन हुन्छ।
आर्थिक २०८०/८१ सालमा यहाँको कृषि ज्ञान केन्द्र बाजुराले अहिले जस्तै बाटो बन्दा हुँदा त्यो स्याउ खच्चरमा ढुवानी अनुदानको व्यवस्था गरेको थियो।
जेनजीको आन्दोलन सुरु भएपछि केही गर्न नसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ। गत वर्ष एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको थियो। भने अहिले पनि त्यसैको हाराहारीमा स्याउ उत्पादन भएको छ।
विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको झण्डै ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको थियो ।