• २९ भदौ २०८२, आइतबार

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

blog

कार्यालयको प्राङ्गणमा टिनको अस्थायी टहराबाट सेवा सुरु गरिएको छ। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ २९ गते। जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएका बाँकेका विभिन्न कार्यालयमध्ये केहीले अस्थायी रूपमा सेवा प्रवाह सुरु गर्न थालेका छन्। 

सोही क्रममा नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयको प्राङ्गणमा रहेको टहरामा अस्थायी सेवा आइतबारदेखि सुरु गरेको हो। 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जेनजी प्रदर्शनको क्रममा जलाएर ध्वस्त पारिएको कार्यालयमा सरसफाइ गरेर बचेका केही कागजपत्रलाई जोगाएर आइतबारबाट सर्वसाधारणका लागि आशिंक रूपमा सेवा प्रवाह सुरु गरिएको बताउनुभयो। 

उहाँका अनुसार भदौ २४ गते अपराह्न आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिका कार्यालयको अर्को दिननै सरसफाइ सुरु गरिएकोमा आधारभूत सेवा सञ्चालनका लागि तयार गरेर सेवा पशु गरिएको जनाउनुभयो। 

शर्माका अनुसार कार्यालयका नापी र घरनक्सा सम्बन्धी कागजपत्र जोगिएका छन् भने योजना शाखाका कागजपत्र पनि जोगिएका छन्। 

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले आइतबारबाट नगरभित्रका सबै विद्यालय सञ्चालन गर्न लगाइएको जनाउँदै अवस्था सामान्य हुँदै गएको बताउनुभयो।