काठमाडौँ, भदौ २९ गते । नेपाल प्रहरीको पोशाक लगायतका सुरक्षा सामग्री लुकाई राखेका सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बललाई जानकारी गराउन प्रहरी बलले आग्रह गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकले सूचना निकाल्दै प्रहरी पोशाक लगायतका सुरक्षा सामग्री प्रयोग गरेको वा लुकाई राखेका खबर वा सूचना पाएमा नजिकैको सशस्त्र प्रहरी बललाई जानकारी गराउन आग्रह गरेको हो ।
यस्तो सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी बल, नेपाल टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायहरूमा जानकारी गराई सहयोग गरिदिन प्रहरी बलको अनुरोध छ।
प्रहरी बलले प्रहरी पोशाक लगायतका सुरक्षा सामग्रीहरू दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमा अझै फोटो, भिडियो देखिएको हुँदा यस्तो आग्रह गरेको हो ।
सूचना अनुसार भदौ २३ र २४ गतेदेखि भएको जेनजी प्रदर्शनको क्रममा नियन्त्रणमा लिएका सुरक्षा निकायका हात हतियार, गोली गठ्ठा, पोशाक, सञ्चार साधन लगायतका सुरक्षासँग सम्बन्धित सामग्रीहरू फिर्ता हुने क्रम जारी छ ।