अमरराज नहर्की
तनहुँ, भदौ २९ गते । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगलागीका कारण क्षति पुगेको मालपोत कार्यालय तनहुँ सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ । गत मङ्गलबार कार्यालयमा लागेको आगलागीपछि सेवाहरू अवरुद्ध भएका थिए । तर आवश्यक मर्मत, सरसफाइ र विद्युतीकरणको काम सम्पन्न भएपछि सेवा सुरु गर्न लागिएको प्रमुख मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार, कार्यालयमा लागेको आगो स्थानीय बासिन्दा, कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले तत्काल नियन्त्रणमा ल्याएकाले ठुलो क्षति हुन पाएन । “यदि स्थानीयको सक्रियता नहुँदो हो त क्षति अकल्पनीय हुन सक्थ्यो,” सुवेदीले बताउनुभयो । आगलागीले गर्दा कार्यालय भवनको केही भागमा मात्र असर पुगेको छ भने कागजात र अभिलेख सुरक्षित राख्न सकिएको छ । तर पनि, कार्यालय परिसरमा पार्किङ गरिएको तीन वटा स्कुटर र एउटा निजी मोटरसाइकल भने जलेर पूर्णरूपमा नष्ट भएको थियो ।
अहिले ती जलेका सवारी साधन हटाइसकिएको छ भने कार्यालयको वरिपरिको फोहोर तथा अवशेष पनि हटाइने काम भइरहेको छ । विद्युत् आपूर्ति व्यवस्थित भएपछि सोमबारबाट कार्यालयले पुरानै शैलीमा सेवा दिन सुरु गर्ने तयारी गरिएको हो ।