पुष्कर भण्डारी
डडेल्धुरा, भदौ २९ गते । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन्। भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदीबन्दीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेको छ ।
१२७ जना कैदीबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै बिहान ९ः०० बजेसम्म ७८ जना कैदीबन्दी पक्राउ गरेको जनाएको छ । हाल कारागारमा १२० जना कैदीबन्दी पुगेका छन । फरार रहेका ७ जनाको खोजतलास गरिरहेको प्रहरी जनाएको छ ।
खुले विद्यालय, कार्यालयहरूमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै
जेनजी प्रदर्शनले उग्र रूप लिएपछि २४ गतेदेखि बन्द भएका विद्यालयहरू एक आइतबारदेखि सञ्चालनमा आएका छन् । २४ गते प्रदशर्नकारीले केही सरकारी, गैरसरकारी कार्यालय र पार्टी कार्यालयहरूमा आगजनी, तोडफोड गरेपछि अपराह्नदेखि जिल्ला सदरमुकाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । शुक्राबार राति देशले पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पाएपछि कर्फ्यु शनिबार बिहानैदेखि हटेको थियो । शनिबार कर्फ्यु हटेपछि एक साता बन्द रहेका विद्यालयहरू खुलेका हुन ।
जनजीवन सामान्य बन्दै गएपछि सामुदायीक तथा निजी विद्यालयहरु आईतबार देखी सञ्चालनमा आएका हुन् । प्रदर्शनकारीले डडेल्धुराको अमरगढी नगरपालिका, आन्तरिक राजस्व कार्यालय, मालापोत कार्यालय, जिल्ला निर्वाचन कार्यालय गरि सरकारी कार्यालयहरू, ग्रामिण महिला विकास केन्द्र (रुडुक), बहुउद्देशीय विकास समाज (एमपिडिएस) गैरसरकारी कार्यालय, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र पार्टीका पार्टी कार्यालयहरू र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजानीका साथै भाडामा रहेका पार्टी कार्यालयका सामाग्रीहरू बाहिर ल्याई जलाइएका थिए ।
नाराबाजीबाट सुरु भएको प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला सदरमुकाम बागबजार, तुफानडाडा र कीर्तिपुर बजार क्षेत्र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले क्षती पुर्याएका कार्यालयहरूको मुचुल्का उठाइसकेको छ । कार्यालयभित्रका सामग्रीहरू जलाई नष्ट गरिएकोले सम्बन्धित कार्यालयसँग नष्ट भएका सामाग्रीहरूको विवरण सङ्कलन गरी पूर्ण क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
जेनजीको आन्दोलनका नाममा केही राजनितीक पार्टी र समाजका अगुवा भन्नेहरूले कार्यालयहरूमा तोडफोड, आगजनीसँगै चोरीसमेत गरेका भिडियो, तस्बिरहरू बाहिरिएको भन्दै चोरीका सामाग्रीहरू फिर्ता गर्न एपिडिएसका कार्यकारी निर्देशन प्रेम महरले आग्रह गर्नु भएको छ । कोही कसैलाई क्षति हानि वा नोक्सान पुर्याउने आफूहरूको कुनै लक्ष्य, योजना नभएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाल मार्फत आफूहरूलाई तार्गेट बनाई कार्यालयमा नोक्सान पुर्याइएको देखिएकाले चोरीका सामानहरू फिर्ता गर्न उहाँले आग्रह गर्नुभएको छ ।