गुणबहादुर रोका
सुलीकोट, भदौ २९ गते । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । भागेका कैदीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले गोरखाको विभिन्न स्थानबाट ६ जना कैदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका गोरखाका चुमनुब्री गाउँपालिका– ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्यालेजन लामा, तेन्जिङ रिक्तेल लामा र सिरानचोक गाउँपालिका– ८ का विशाल उपरकोटी र भीमसेन थापा गाउँपालिका – १ मसेलका राजेश विश्व स्नार पक्राउ परेका हुन् ।
‘‘जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारगारबाट भागेर गोरखा आएका रहेछन्,’’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो ।
कैदीहरुको खोजतलासका लागि खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखाका प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको उहाँको भनाइ छ ।
६ जनामध्ये कास्की कारागारबाट भागेका पाँच जना र तनहुँ कारागारबाट भागेका गोरखा सिरानचोक गाउँपालिका – ८ का विशाल उपरकोटी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय गोरखाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
आन्दोलनको क्रममा कास्की र तनहुँ कारागारबाट भागेका कैदीबन्दीहरु गोरखा आउन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले विशेष योजना बनाई प्रहरी परिचालन गरी निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कारागारबाट भागेर कैदीहरु गोरखामा सम्म आईपुगेकाले समाजमा थप अपराध बढ्ने हो कि भन्ने त्रासले जिल्ला प्रहरी कार्यालय गोरखालाई शान्ति सुरक्षा कायम गराउन स्थानस्यहरुले आग्रह गरेको गोरखा नगरपालिका–८ का स्थानीय कृष्णबहादुर खत्रीले बताउनुभयो ।