• २९ भदौ २०८२, आइतबार

तनहुँ प्रहरीद्वारा १०९ कैदीबन्दी पक्राउ

blog

तनहुँ कारागारको प्रशासनिक भवन । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २९ गते ।
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये १०९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिँदै भन्नुभयो, “कारागारबाट भागेका कैदीबन्दीमध्ये १०९ जनालाई नियन्त्रणमा लिएका छौँ र बाँकीको खोजी जारी छ ।”

प्रनाउ थापाका अनुसार पुरुष कैदी ६८, पुरुष थुनुवा ३२ र महिला कैदी नौ गरी १०९ जनालाई हालसम्म पक्राउ गरिएको छ । फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क राखेर सुरक्षित फिर्ताका लागि आग्रह गरेको कारागारका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईले भन्नुभयो, ‘‘आवश्यक सम्पर्कका लागि परिवार र आफन्तहरूले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो, हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयास गरेका छौँ ।”

कार्यालयका अनुसार तीन सय सात पुरुष र २० जना पुरुष गरी ३२७ जना फरार भएका थिए । आन्दोलन चर्किँदा स्थिति नियन्त्रण बाहिर गएको र सुरक्षाकर्मीले समयमै नियन्त्रण गर्न नसक्दा कैदीबन्दी भाग्न सफल भएका थिए । मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीहरूले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन् ।

फरार कैदीबन्दीमध्ये केही सामान्य मुद्दामा सजाय भुक्तान गर्दै थिए भने धेरै गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । प्रशासनले छिटो फिर्ता र सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय जारी राखेको छ । साथै, कारागार प्रशासन कार्यालयमा आगलागीले क्षति पुगेकाले त्यसको व्यवस्थापनको काम पनि भइरहेको कार्यालयले जनाएको छ  ।