सुधा देव
भारदह(सप्तरी), भदौ २९ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाका जनजीवन सामान्य बन्दै गएको छ । जिल्लामा बजारहरु खुल्न थालेका छन् भने सार्वजनिक यातायातहरु सञ्चालनमा आउन थालेका छन् । यसैगरी, आइतबारदेखि विद्यालयहरू पनि सञ्चालनमा आएको छ ।
गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटपछि जिल्लामा कर्फ्यु र निषेधाज्ञा आदेश जारी भएको बेला सर्वसाधारण काम गरेर हातमुख जोर्न मात्र नभएर हिँडडुल गर्नसमेत समस्या हुँदै आएको थियोे ।
कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै जिल्लाको जनजीवन सहज बन्दै गएको स्थानीयले बताएका छन् ।
विस्तारै मजदुर, शिक्षक, व्यापारी, चालक लगायत काममा फर्किन थालेपछि सप्तरीको जनजीवन पहिले जस्तै हुन थालेको स्थानीयहरुको भनाइ छ । शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु र निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।