हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), भदौ २९ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, लोवथाङ गल्फ कोर्समा शनिबार सम्पन्न भएको चौथो संस्करणको गल्फ प्रतियोगिता च्याम्पियन भक्तराज गुरूङ हुनुभएको छ । १८ होलमा ३७ अङ्क जोड्दै उपाधी जित्नुभएको हो । प्रतियोगितामा गल्फर देब पुन ३५ अङ्क जोड्दै उपविजेता हुनुभयो ।
विश्वकै उच्च स्थान समुद्री सतहबाट चार हजार सात सय मिटरको उचाइमा अवस्थित गल्फ कोर्समा यसपटक जलवायु परिवर्तनको असरका बारेमा ध्यानार्कषण गराउन‘टी फर क्लाइमेट’ नारा सहित आयोजित प्रतियोगितामा महिला गल्फर जान्भी गुरुङ विजेता, गिता गुरूङ उपबिजेता, सिनियर विजेता नारायण गुरूङ, बेष्ट ग्रस र होल नजिक हिर्काउँदै ‘क्लोजेष्ट टु दि पीन’को विजेता श्याम तामाङ, सबैभन्दा लामो ड्राइभ विजेता भक्तराज गुरूङ, सर्वाधिक बर्डी हिर्काउने गल्फरको पुरस्कार सञ्जिव तिवारी र सर्मथक विजेता सुर्यप्रसाद शर्मा रहनुभएको छ । उक्त प्रतियोगितामा विजेतालाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ, ट्रफी प्रदान गरिएको थियो ।
होल ईन वानको पुरस्कार भने कसैले जित्न सकेनन । होल ईन वान विजेता गल्फरलाई सजाईको घोडा पुरस्कार रहेको थियो । विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गर्नुभएको थियो । कुनै समय पशुको चरन क्षेत्र रहेको लोवथाङलाई गल्फ कोर्स बनाएर निरन्तर प्रतियोगिता हुन थालेपछि खेल पर्यटनमार्फत समेत उपल्लो मुस्ताङको प्रचारप्रसार भइरहेको प गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगितामा देश तथा विदेशबाट ५५ देखि ६० गल्फरहरूले च्याम्पियनसिपमा भाग लिने जानकारी आए पनि जेन–जी प्रदर्शनका कारण कर्फ्यु तथा निशेधाज्ञाका कारण २४ जनाको सहभागिता रहेको थियो ।
लोमान्थाङमा रहेको गल्फ कोर्ष हाईअल्टिच्युडको दृष्टिकोणले विश्वकै अग्लो स्थानमा रहेको दाबीसहित गिनिज वल्र्ड रेकर्ड कायम गराउन यसवर्ष लागि पर्ने प्रबन्ध निर्देशक विष्टले बताउनुभयो । हाल विश्वमा छिमेकी देश भारतको सिक्किममा याक गल्फ तीन हजार नौ सय ७० मिटरमा रहेको छ । बोलिभिको ला पाजमा तीन हजार दुई सय ६० मिटरको उचाई र तीन हजार ३८ मिटरमा चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब र कुपर क्रिक गल्फ क्लब तीन हजार ६ मिटर उचाई मापन गरिएको छ । प्रतियोगितालाई गण्डकी प्रदेश, लोमान्थाङ गाउँपालिकासहित प्रतियोगिता सम्पन्न गर्न प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफरलगायत विभिन्न प्रायोजक गरेका थिए ।