• २९ भदौ २०८२, आइतबार

एकाउन्न कैदीबन्दी नियन्त्रणमा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ २९ गते । गत मङ्गलबार रुकुमपश्चिमस्थित कारागारबाट भागेका ८८ कैदीबन्दीमध्ये ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनको मौका छोपेर कारागार कार्यालयको ढोका फोडेर भागेकामध्ये ३७ जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले कारागार फोडेर भागेका कैदीबन्दीको खोजी कार्य जारी राखिएको जनाउनुभयो । हालसम्म भागेका ५१ जना कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरेर कारागार फर्काइएको उहाँले जानकारी दिनुभयो । प्रहरी निरीक्षक पुनका अनुसार भागेकालाई खलङ्गा आसपासका क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जेनजीको आन्दोलनका क्रममा रुकुम कारागारबाट ढोका फोडेर कैदीबन्दी भागेका थिए । कारागारमा १५८ जना कैदीबन्दी रहेकोमा ८८ जना भागेको कारागार प्रशासनले जनाएको छ । 

यसैबिच जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै भागेका कैदीबन्दीलाई स्वस्फूर्त रूपमा सम्पर्कमा आउन अनुरोध गरेका छन् । सम्पर्कमा नआए थप कानुनी सजाय हुने चेतावनीसमेत दिइएको छ । कैदीबन्दी भाग्ने क्रममा गाउँ टोलतिर आउन सक्ने, बास माग्न सक्ने सम्भावना हुने हुँदा आफ्नो गाउँघरमा कोही नयाँ अनुहारको मानिस आएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले अपिल गरेको छ । 

कारागारबाट फरार कैदीबन्दी विभिन्न गम्भीर मुद्दामा सजाय काटिरहेका र अदालतको आदेशले कारागार चलान भएका कारण ती व्यक्तिले समाजमा पुनः अपराध घटाउने सक्ने भएकाले सर्वसाधारणलाई सूचना दिई सहयोग गर्न अनुरोध गरिएको छ ।