• २९ भदौ २०८२, आइतबार

भागेका बालबन्दी र कैदी पक्राउ

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २९ गते । बाँके जिल्लाका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९५ जना बालबन्दीमध्ये ३४ जना पक्राउ परेको तथा नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जना कैदीमध्ये १३ जना पक्राउ परेको बाल सुधारगृह र कारागारले जनाएका छन्  । 

डुडुवास्थित जयन्दु बाल सुधारगृहका प्रमुख किशोर शर्माले जेनजीको आन्दोलनका बेला सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेकोमा २१ जना पक्राउ परेको र ९४ जनाको खोजी भइरहेको बताउनुभयो । प्रमुख शर्माले फरार रहेकालाई बाल सुधारगृहमा फर्किन अनुरोध गरिएको पनि बताउनुभयो । त्यसै गरी नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ जना बालबन्दीमध्ये ८० जना भागेकामा १३ जना पक्राउ परेको बताउनुभयो । पाँच जना बाँकेबाट र आठ जना दाङबाट पक्राउ परेको रानाले बताउनुभयो । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजी भइरहेको छ । 

यसै गरी नौबस्ताको क्षेत्रीय कारागारका प्रमुख जालन्धर भुसालले फरार भएका १४७ जना कैदीमध्ये १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको बताउनुभयो । सो कारागारमा ५८५ जना कैदी रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ परेका ४७ जनामध्ये केही आफैँ फर्किएको र अधिकांशलाई खोजतलासका क्रममा पक्राउ गरिएको जनाएको छ । अझै पनि फरार रहेका २९५ जना बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजतलास गरी पक्राउ गरिने चेतावनी दिइएको छ ।