अमरराज नहर्की
तनहुँ, भदौ २९ गते । जेनजी आन्दोलनका सहिदप्रति तनहुँका युवाहरूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् । जेनजी युवाहरुले तनहुँको सदरमुकाम दमौलीको प्रशासन चोकमा शनिबार साँझ सहिदप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर बलिदानीका स्मरण गर्दै शान्ति र सद्भावको सन्देश फैलाए । सामाजिक अभियन्ता सुदीप गफ्फारले कार्यक्रममा भन्नुभयो, “जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको बलिदानीले हामीलाई सामाजिक चेतना र जिम्मेवारी सिकाउँछ ।’’ हामीले केवल सम्झनामा सीमित नरहनुहोस्, तर यसबाट सिकेर भविष्यमा यस्ता घटनालाई दोहोरिन नदिने उपायहरू पनि अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी युवाहरूले सहिदहरूको योगदान सम्झँदै, भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन चेतना जगाउनुपर्नेमा जोड दिएका थिए । जेन्जी युवाहरुले भविष्यमा यस्ता स्मरण कार्यक्रम नियमित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिएका छन् ।