• २९ भदौ २०८२, आइतबार

च्याउखेतीले बदलेको पुन दम्पत्तिको जीवन

blog

फर्ममा च्याउ बेच्दै दिलकुमारी पुन । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 
दाङ, भदौ २९ गते ।
पश्चिम रुकुमबाट सात वर्षअघि दाङ झरेका दिलकुमारी पुन र शेरबहादुर बाठा मगर दम्पत्ति छोरीलाई पढाउन ल्याउँदा जीवन नयाँ मोडबाट अगाडि बढ्ने भने सोच्नु भएको थिएन । तर, छोरीको पढाइसँगै कोठा भाडा र खर्च व्यवस्थापन गर्न मुस्किल हुने भएपछि दम्पत्तिले वैकल्पिक रूपमा व्यवसाय सुरु गर्ने योजना बनाउनुभयो । परिवारको छलफलमा घोराहीमा व्यावसायिक रूपमा च्याउखेती थाल्ने निर्णय भयो ।

बजार नजिकै लिजमा जमिन खोज्दै उहाँहरू घोराही–१७ गैरा गाउँ पुग्नुभयो । त्यहाँ ६ कठ्ठा जग्गा लिजमा लिएपछि च्याउखेतीका लागि आवश्यक तयारी सुरु भयो । “जग्गा मिलेसँगै हामी च्याउखेतीका लागि चाजोपाजोमा जुटिहाल्यौं,’’ दिलकुमारीले भन्नुभयो, ‘‘२०७५ सालमा ‘रुकुमेली खामे मसरुम’ नाममा फर्म दर्ता गरी व्यवसायलाई अगाडि बढायौं ।’’  सुरुमा नयाँ काम भएकाले केही चुनौती भए पनि अहिले उहाँहरूको च्याउखेती दाङसँगै आसपासका जिल्लामा समेत परिचित बनेको छ ।

हाल फर्ममा दैनिक एक सयदेखि दुई सय किलोसम्म च्याउ उत्पादन हुन्छ । होलसेलमा प्रति किलो १५० रुपियाँ र खुद्रा दुई सय रुपियाँसम्म बेच्दै आएको जानकारी दिनुभयो । लमही, घोराही र तुलसीपुरबाट व्यापारीहरू नियमित रूपमा च्याउ लिन आउँछन् । “होलसेल र आफैं फर्मसम्म आइपुग्ने भएकाले हामीलाई बजार खोज्न धेरै धाउनुपरेको छैन,’’ शेरबहादुरले भन्नुभयो ।

वर्षैभरि उत्पादन हुने भएकाले व्यवसाय स्थिर बनेको छ । सात जनालाई रोजगारी दिइरहेको फर्मले स्थानीय स्तरमै रोजगार सिर्जना गरेको छ । “दैनिक २० हजार रुपियाँभन्दा बढीको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक एक लाखभन्दा बढी बचत गर्न सकिन्छ,’’ दिलकुमारी गर्वका साथ भन्नुभयो ।

पहिले छोरीको पढाइ र घरखर्च कसरी धान्ने भन्ने चिन्तामा रहेका उहाँहरू अहिले आत्मनिर्भर मात्र भएका हुनुभएको छैन, दाङमै सफल कृषि उद्यमीको उदाहरण बन्नुभएको छ ।

अहिले उहाँरुको एउटै सन्तान छोरी बेलायतमा स्कलरसिपमार्फत अध्ययनरत हुनुहुन्छ  । “चार वर्ष भयो, छोरी बेलायत पढ्न गएकी छिन्,’’ उहाँले भन्नुभयो, ‘‘स्कलरसिपमा नाम निकालेपछि हामीले पठायौं ।’’ रुकुमबाट दाङ झरेको यात्रा आज रोजगारी सिर्जना गर्ने बाटोमा उभिएको छ । दृढ इच्छाशक्ति र परिश्रमकै कारण च्याउखेती दम्पत्तिको जीवन परिवर्तन गर्ने आधार बनेको छ ।