• २९ भदौ २०८२, आइतबार

बालबालिका राष्ट्रका उज्ज्वल भविष्य हुन् : प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

मकवानपुर, भदौ २९ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनुभएको छ। आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनुभएको हो । 

उनीहरूको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो, उहाँले सन्देशमा भन्नुभएको छ। यस वर्षको “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासाथ आइतबार दिवस मनाइदै छ । स्वस्थ र गुणस्तरीय शिक्षा, पोषण र सुरक्षित वातावरणमा गरिने लगानीले मात्र बालबालिकाहरूको चौतर्फी विकास हुने उनीहरू जिम्मेवार तथा सक्षम नागरिक बन्न सक्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । 

नेपालको संविधानले बालबालिकाका हक र अधिकारलाई सुनिश्चित गरेको छ। हरेक बालबालिकाले बालमैत्री समाजमा निर्धक्क भएर हाँस्न, खेल्न र आफ्नो सपना पूरा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो, यो पूरा गर्न जिम्मेवार बनिदिनु हामी सबैको कर्तव्य हो । 

बालबालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा, शोषण, दुर्व्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक भएको उहाँले उल्लेख गर्नुभएको छ । 

विशेष दिनमा हामी सबैले हरेक बालबालिकाको मुस्कानको संरक्षण गर्ने र उनीहरूको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने प्रण गरौं, उहाँले भन्नुभएको छ ।