नरेन्द्र ढकाल
गोरखा, भदौं २८ गते । गोरखाबाट ६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की र तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा कास्की कारागारमा सजाय भोग्दै गरेका ५ जना भागेर गोरखा आइपुगेका थिए । यसैगरी चोरी मुद्दामा दोषी ठहर भई तनहुँ कारागारमा सजाय काटिरहेका १ जना पनि भागेर गोरखा आइपुगेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
कास्की कारागारबाट फरार हुनेहरुमा चुमनुव्री गाउँपालिका–६ चुम्चेत घर भएका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम ग्याल्जेन लामा र तेन्जिन रिक्तेल लामा, भिमसेन थापा–१ मसेलका राजेश विश्व सुनार रहेका छन् । उनीहरू पाँचैजना भदौ २४ गते फरार भएका थिए । त्यस्तै, तनहुँ कारागारबाट भागेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको थुनवा कक्षमा राखिएको छ । सम्बन्धित कारागारमा सम्पर्क गरेर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सम्बन्धित कारागार फर्कन प्रहरीले आग्रह गरिसकेको छ ।