• २८ भदौ २०८२, शनिबार

बाँकेका अधिकांश सरकारी कार्यालयकाे सेवा प्रवाह स्थगित

blog

आगलागिबाट ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिका कार्यालय । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ २७ गते । बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका दर्जन बढी सरकारी कार्यालयहरुले सूचना निकालेर हालका लागि कार्यालयबाट प्रदान गरिने सेवा स्थगित गरिएको जनाएका छन् । 

जेन जी प्रदर्शनको क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट कार्यालय ध्वस्त हुनुका साथै सबै कागज पत्र र फर्निचर समेत जलेर खरानी भएकोले ती कार्यालयहरुले अर्को सूचनासम्मका लागि सेवा प्रवाह स्थगित गरिएको जनाएका हुन् । 

प्रदर्शनको क्रममा आगजनी तथा तोडफोडबाट ध्वस्त भएका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कृषि ज्ञान केन्द्र बाँके, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालय कोहलपुर लगायतका कार्यालयहरुले सेवा प्रवाह स्थगित गरिएको जनाएका छन् । 

ती कार्यालयहरुद्वारा छुट्टाछुट्टै जारी गरिएको सूचनामा कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर लगायत भौतिक संरचना र सवारीसाधनहरु आगजनीबाट ध्वस्त पारिएकोले सेवा प्रवाह गर्न सक्ने अवस्था नभएकोले सेवा प्रवाह हालका लागि स्थगित गरिएको जनाएका हुन् । 

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख रामहरी शर्माले कार्यालयलाई पूर्ण रुपमा ध्वस्त पारिएकोले केही दिन सेवा दिन सक्ने कुनै पनि सम्भावना नदेखिएको जनाउँदै अहिले सबै कर्मचारीले मिलेर बचेका कागज पत्र तथा सामाग्री जोगाउने र सरसफाइ गर्ने कार्य गरिरहेको बताउनुभयो । उहाँले यसबाट जनतालाई पर्ने समस्याप्रति दुख व्यक्त गर्दै हालका लागि अर्को कुनै पनि विकल्प नभएको बताउनुभयो । 

सोही प्रकारका सूचनाहर आगलागि भएका सबै कार्यालयले निकालेर सर्वसाधारणलाई जानकारी गराएका छन् । जिल्लाका सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट १० देखि २० अर्ब जतिको क्षति भएको अनुमान गरिएको छ । 

बाँकेका सरकारी कार्यालयहरुमा गरिएको आगजनी तथा तोडफोड र लुटपाटमा जेनजीभन्दा अन्यको सहभागिता बढी देखिएको पाईएकोले त्यसको पनि छानविन गरिने सुरक्षा निकायले जनाएका छन्। 

आगजनी तथा तोडफोड भएका सबैजसो कार्यालयमा विहिबार कर्मचारीहरु पुगेर बचेका र नजलेका कागजपत्र जोगाउने तथा अन्यत्र सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको जनाईएको छ । 

गत सोमवार काठमाडौँलगायत देशका विभिन्न ठाउँहरुमा जेन जीहरुको प्रदर्शनमा बाँकेका दुई जनासहित १९ जनाको मृत्यु भएपछि आक्रोशमा आएका युवाहरुले बुधवार बाँके लगायत देशभरि सरकारी कार्यालयहरुमा आगजनी गरेर ठुलो क्षति पुर्याएका थिए ।