काठमाडौँ, भदौ २५ गते । नेपालमा भ्रष्टाचारविरुद्ध सुरु भएको युवा पुस्ता (जेन जी) को प्रदर्शनलाई कलाकारले पनि खुलेर साथ दिएका छन् । वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ दुवैले (जेन जी) को प्रदर्शनलाई समर्थन जनाउनुभएको छ । सामाजिक सञ्जालमा कलाकार आचार्यले लेख्नुभएको छ, “मेरो घरछेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्थेँ यो बाटो यति चाँडो कसरी भत्कियो ? तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र राख्दैनन्, प्रश्न उठाउँछन् । जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ?”
कलाकार मदनकृष्ण श्रेष्ठले पनि जेन जीको आन्दोलनलाई खुलेर समर्थन गर्न‘भएको छ । उहाँका अनुसार, “देशले हरेक कालखण्ड पार गरेको छ र कति त आफैँले पनि भोगेको छु । आवाजलाई दबाएको देखेको छु, भोगेको छु ।” श्रेष्ठले देशमा भ्रष्टाचारले गर्दा हजारौँ युवा रोजगारीका लागि बिदेसिन बाध्य भइरहेकोमा चिन्ता व्यक्त गर्न‘भएको छ ।
अभिनेता राजेश हमालले ‘जेन जी’ पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे सामाजिक सञ्जालमार्फत गहिरो पीडा व्यक्त गर्न‘भएको छ । उहाँले लेख्नुभएको छ, “हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ । म विदेश यात्रा गर्दै छु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ ।” जेन जीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि राजनीतिक र सामाजिक मुद्दामा कमै टिप्पणी गर्ने हमालबाट यस्तो टिप्पणी आएको हो ।
यसै गरी गायिका रचना रिमालले लेख्नुभएको छ, “आज हाम्रो पुस्ता नयाँ अध्यायको सँघारमा छ, सबै कुरालाई मौन र चुपचाप भई नियालिरहेको यो पुस्ता आज खबरदारीको बिगुल फुक्दै छ,” उहाँले भन्नुभयो, “व्यक्ति होइन, व्यक्तिको भ्रष्टाचारी प्रवृत्तिको विरोध गर्दै छ ।” उहाँले यो महाअभियान शान्तिपूर्ण हुनुपर्ने र कुनै पक्षबाट पनि दमन नहोस् भन्ने कामनासमेत गर्न‘भएको छ ।
अभिनेतृ करिश्मा मानन्धरले आफू जनताकै कलाकार बनिरहन चाहेको बताउनुभयो । उहाँ लेख्नुहुन्छ, “अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता भनेको यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो तर आजदेखि म कुनै राजनीतिक दल वा सङ्गठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।” “म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रूपमा रहिरहन चाहन्छु ।”
निर्देशक निश्चल बस्नेतले टिकटकमा एक भिडियो सार्वजनिक गर्नुहुँदै आन्दोलनमा आफू पनि सहभागी हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “देशमा बसिरहेका युवा हुर्कंदै छन् । उनीहरूलाई भविष्यको चिन्ता छ । यो उनीहरूले आफ्नो भविष्यका लागि गरिरहेका हुन्,” भनेर टिकटकमार्फ बताउनुभएको छ । नायिका केकी अधिकारी, अनमोल केसीलगायतले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।