• २३ भदौ २०८२, सोमबार

सट्टामा परीक्षा दिँदैगरेका छोरा पक्राउ

blog

बुवाको नाममा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा फेला परेका छोरालाई प्रहरीले पक्राउ गरी लैजादै । तस्बिरः दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम 

वीरगञ्ज, भदौ २२ गते । बुवाको नाममा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा छोरा फेला परेपछि क्याम्पस प्रशासनले उनलाई प्रहरीको जिम्मा लगाएको छ । 

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा क्याम्सप प्रमुख मोहन यादवका अनुसार परीक्षा हलमा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको सूचना प्राप्त भएपछि चेकजाँच गर्दा बुवाको नाममा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा छोरा फेला परेपछि क्याम्पस प्रशासनले आवश्यक थप कारवाहीको लागि प्रहरीको जिम्मा लगाएको हो । 

आइतबार क्याम्पसमा सञ्चालित मानविकी संकायको राजनीतिशास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षामा सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी मोहम्मद शहाबुद्दीनको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका मोहम्मद शहाबुद्दीनका २५ वर्षीय छोरा मोहम्मद अफताब फेला परेका छन् ।  

क्याम्सप प्रमुख मोहन यादवले पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुने बताउनुभयो । 

मोहम्मद शहाबुद्दीन नेपाली काँग्रेस पर्साको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् भने शहाबुद्दीन र उनका छोरा अफताब वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले अफताबलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक गौतम मिश्रले गोरखापत्रसँग भन्नुभयो, ‘अर्कैको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना पक्राउ परेका हुन् । हामी ऐन कानुन अनुसार सरसल्लाह गर्दैछौ, शिक्षा ऐनमा जे व्यवस्था छ त्यहीअनुसार कारवाही हुन्छ ।’