जनार्जन खत्री
सर्लाही, भदौ २२ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक जना अशक्त र एक वृद्ध दम्पत्तिलाई आइतबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलसहितले गोडैता नगरपालिका –५, रामवनका ८१ वर्षीय फरमूद मिया, उहाँकी श्रीमती ७९ वर्षीया ऐसा खातुन र कबिलासी नगरपालिका –७, जमुनियाका ७३ वर्षीया सैरुल खातुन फकिरलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो । मियाँ दम्पत्ति वृद्धवृद्धा र सैरुल शारीरिक रुपमा अशक्त हुनुहुन्छ ।
मियाँ दम्पत्तिलाई नागरिकताको प्रथम प्रतिलिपी र सैरुललाई दोस्रो प्रतिलिपी प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो । यादवका अनुसार गोडैतामा नगरप्रमुख देवेन्द्र यादव र कबिलासीमा नगरप्रमुख ब्रह्मदेव रायसहितका जनप्रतिनिधिको उपस्थितिमा तीनै जना सेवाग्राहीलाई घरमा पुगेर नागरिकता हस्तान्तरण गरिएको हो ।
नागरिकतासम्वन्धी सेवा लिन जिल्ला प्रशासन कार्यालय मलङ्गवा धाउनुपर्ने सेवाग्राही प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै आएर नागरिकता प्रदान गरेपछि खुसी हुनुभएको छ । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले प्रशासन कार्यालयबाट प्रदान हुने सेवा सदैव सहज हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भर्खरै नयाँ भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहजरुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन लागिपरिरहेको बताउनुभयो ।