• २२ भदौ २०८२, आइतबार

एसियाड बारे खेलकुद मन्त्रीसँग छलफल

blog

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल ओलम्पिक कमिटी तदर्थ समितिका पदाधिकारीहरु ।

काठमाडौँ, भदौ २२ गते । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको पदाअधिकारीहरुले पछिल्लो गतिबिधिका बारे जानकारी गराईएको छ । 

अगामी वर्ष जापानमा हुने एसियाली खेलकुद (एसियाड)-२०२६ मा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउन र सो प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्यालाई समय सिमा भित्रै आयोजकलाई पठाउन मन्त्री चौधरीले ओलम्पिक कमिटीलाई निर्देशन दिनुभएको छ ।

त्यसैगरि ओलम्पिक कमिटीको कार्यसमितिबाट निर्णय भई परिषद् र मन्त्रालयमा पत्राचार भएका विषय यथाशक्य कार्यान्वयनका लागि परिषद् र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

ओलम्पिक कमिटीबाट पत्राचारमा भएका अबैध रुपमा कब्जा गरिएका सवारी साधन लगायत अन्य चल अचल सम्पत्ति फिर्ता गर्न कडा रुपमा निर्देशन दिनुभएको हो ।

उक्त छलफलमा तदर्थ समितिका ९ सदस्य टोली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सह–सचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो । 

नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारेसमेत छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।