• २२ भदौ २०८२, आइतबार

बुलिङ्टारमा खानेपानीकाे समस्या

blog

५० वर्षपछि सम्पन्न भएको खानेपानी आयोजना तर धारामा पानी नआएपछि पधेँराको पानी खान बाध्य ।

होमराज रानाभाट 

डाँझेरी (नवलपरासी), भदौ २२ गते । जन्मेदखि नै कुवाको पानी खान बाध्य बुलिङ्टार-२, डाडाँझेरी मथारकी ६५ वर्षीय डोलीमाया रानाभाट पानी बोकेर खान पर्ने भएपछि गाउँ नै छाडेर मधेश झरेको बताउनुहुन्छ । झण्डै ५० वर्षपछि पहिलो पटक अहिले घर घरमै खानेपानी धारा पुगे पनि धाराबाट खानेपानी आउन सकेको छेन यसले त्यस गाउँका एक हजार बासिन्दा घरमै खानेपानी धारा पुगे पनि पानी खान नपाएकोमा अचम्म पर्न थालेका बुलिङ्टार गाउँपालिका २ का पूर्व वडाध्यक्ष प्रेमबहादुर थापा मगर बताउनुहुन्छ ।

जिल्लाको बुलिङ्टार-२, डाडाँझेरी मथार टोलमा सरकारको पाँच करोडको लागतमा खानेपानी आयोजना सम्पन्न भएको एक वर्ष बित्यो तर धारामा खानेपानी नै आउँदैन बुलिङ्टार २ का वडाध्यक्ष कमल बकावल मगरले भन्नुभयो, करोडौँ खर्च गरेर योजना घरघरमा आए पनि धारामा पानी नै नखसे पछि स्थानीयका लागि दुःखको विषय बनेको छ ।

एक वर्षअघि निर्माण सम्पन्न भएको डाडाँझेरी खानेपानी आयोजनाबाट त्यस वडाका झण्डै एक हजार स्थानीय बासिन्दा प्रत्यक्ष खानेपानीबाट लाभन्वित हुन नसकेका वडाध्यक्ष बकावल मगरले बताउनुभयो ।

जीवनभरि सधैँ आधा घण्टा टाढाको पँधेराको खानेपानी खाएर बाँच्न विवश त्यहाँका स्थानीयले ५० वर्षपछि गाउँमा त्यो पनि घर घरमा धारा बनाएर खानेपानी खान पाइने खुसीले होसाए पनि धारामा पानी नै नआए पछि दुःखी बनाएको मथार खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन रानाभाटले बताउनुभयो ।

वर्षौंदेखि कुवाको खानेपानी खान बाध्य त्यहाँका सय भन्दा बढीमा लठ्यौरो पना,गलगाँड जस्ता विभिन्न रोगहरूबाट ग्रसित हुने समस्या रहेको उनीहरूको उमेरमै मृत्यु हुने समस्या रहेको र यस्ता धेरै समस्याका कारण पनि त्यहाँका बासिन्दाको वर्षाैं देखिको धाराबाट पिउने खानेपानीको सपना पूरा भएको तर धारामा पानी नै नआए पछि फेरि बिचल्ली सुरु भएको स्थानीय दुर्गाबहादुर रानाभाटले बताउनुभयो ।

पहाडी क्षेत्रमा निर्माण भएको सो खानेपानी आयोजना त्यस क्षेत्रको नमुना आयोजनाका रूपमा निर्माण भएको तर अहिले निर्माण सम्पन्न भए पनि यहाँका बासिन्दाले धाराबाट खानेपानी खान नपाएका र पानी आउने समस्या उस्तै रहेको बुलिङ्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुभयो । 

पानी धारामा नआए पछि स्थानीयले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका वडाध्यक्ष बकावल मगरले बताउनुुभयो । यस क्षेत्रका प्रदेश सांसद तथा पूर्वमन्त्री महेन्द्रध्वज जिसीले करोडौँ खर्च गरेर ५० वर्षपछि बनेको खानेपानी आयोजना सम्पन्न भएर पनि पानी नआउनु दुखको विषय भएकाले प्रदेशमा आफूले गम्भीरताका साथ कुरा उठाएको र चाँडै समाधान आउने बताउनुभयो ।