सिराज खान
नेपालगन्ज, भदौ २२ गते। इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले मोटरसाइकल चोरीमा संलग्न रहेको एक सङ्गठित गिरोहलाई नै पक्राउ गर्न सफल भएको छ।
पछिल्लो समयमा विभिन्न सार्वजनिक स्थानबाट मोटरसाइकल चोरीका घटनाहरू बढेको सन्दर्भमा सो को खोजी गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले केही मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुर अगाडिबाटै यही भदौ १३ गते भे. ११ प. ९६७८ नम्बरको मोटरसाइकल चोरी भएपछि त्यसको निकै आलोचना भएपछि प्रहरीले विशेष अभियाननै चलाएर मोटरसाइकल चोरहरूको खोजी तिव्र पारेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो।
उहाँले सोही खोजतलास गर्ने क्रममा कोहलपुर नगरपालिका–११ बाट भारतका ४२ वर्षीय आजाद अन्सारी र नेपालगन्जका ४३ वर्षीय संजिबकुमार यादवलाई पक्राउ गरेपछि उनकै गिरोहका थप दुई जनालाई पनि पक्राउ गरिएको बताउनुभयो।
पक्राउ परेका अन्सारी र यादवले उक्त मोटरसाइकल नेपालगन्ज उपमहानगर–८ का ६० वर्षीय सहिद अहमद सिद्दीकीलाई तीन हजार रुपियाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि सिद्दीकीलाई नेपालगन्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
सो कार्यालयका अनुसार उक्त चोरी भएको मोटरसाइकल नेपालगन्ज–१८, भुजई गाउँमा रहेको समिम अहमदले सञ्चालन गरेको शाहजी मोटरसाइकल ग्यारेज नजिकबाट फेला पारिएको हो।
प्रहरीले ३० वर्षीय समिम अहमदलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। कोहलपुर प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका गिरोहका चार जनाविरुद्द थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। उनिहरूले यसअघि केही थान अन्य मोटरसाइकल पनि चोरी गरेर बिक्री गरेको खुलासा अनुसन्धानबाट भएको प्रहरीले जनाएको छ।