• १९ भदौ २०८२, बिहिबार

रानीखर्कका उच्च पाटनमा भेडीगोठ सरे

blog

रानीखर्कका पाटनमा चर्दै गरेका भेडाका बथान । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, भदौ १८ गते  ।
यतिबेला जिल्लाका उच्च पाटन क्षेत्रमा भेडीगोठ सारिएका छन् । मध्य बर्खा भएसँगै होचा स्थानबाट चार हजार पाँच सयदेखि पाँच हजार मिटर उचाइका क्षेत्रमा भेडीगोठ सारिएका हुन् ।

हुम्ला बाजुरा र बझाङ जिल्लाको सङ्गमस्थल रानी खर्कका पाटनमा भेडी गोठ सारिएको कारण पाटन नै सेताम्मे देखिने गरेका नाम्खा गाउँपालिका– ३ का पासाङ लामाले बताउनुभयो ।

हुम्ला जिल्लाका मात्र पाँच हजार भेडाहरु पालनका लागि रानीखर्कमा सारिएको उहाँले बताउनुभयो । प्रशस्त मात्रामा बुकी उत्पादन हुने रानीखर्क हिजोआज भेडाका बथानले सेताम्मे देखिने गरेका छन् । बुकी पलाउन थालेपछि भेडीगोठ पनि उच्च क्षेत्रमा सारिएको हो ।

भेडा पालनका लागि हेरालुहरुले पाल टाँगेर बस्ने गरेको बताउँदै बाजुराबाट पनि भेडापालनका लागि ल्याइएको उहाँले बताउनुभयो । यसपालि बाजुरा जिल्लाका पशुपालक किसानले पनि दुई हजारभन्दा बढी भेडापालनका लागि रानी खर्कमा ल्याएको अर्का खर्काला चन्द्र बुढाले बाउनुभयो । विगतका वर्षभन्दा यसवर्ष बढी भेडापालनका लागि रानी खर्कमा लगिएको बताउँदै र यतिबेला रानीखर्कको पाटन रमणीय देखिने गरेको उहाँले बताउनुभयो ।

अझै एक महिनासम्म रानीखर्कमा भेडापालनका लागि राखिनेछ । भेडीगोठ सरेपछि रानी खर्कको पाटनमा निक्कै चहलपहल भएको छ । बथानका बथान भेडाहरु चराउने हेरालुहरु पनि ठाडी भाकामा देउडा गीत गाउने गर्दै आउनुभएको छ । यतिबेला रानीखर्कमा भेडा मात्र नभएर चौंरी गाई, जुमा, लुलु गाईको खर्कसमेत सारिएका छन् । नयाँ जन्मेका भेडाका पाठापाठी बथान पनि ठुलै देखिने गरेको छ ।