शशिधर पराजुली
विराटनगर, भदौ १८ गते । लोक सेवा आयोगले युवा विद्यार्थीलाई विदेश पलायनको सोच त्यागेर राष्ट्रसेवामा आबद्ध हुन प्रेरित गर्न गर्न थालेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीसँग सोमबार विराटनगरमा अन्तर्क्रिया गरिएको हो । आयोगको हीरक जयन्तीका अवसरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ भन्ने विषयमा विद्यार्थीसँग छलफल गरिएको हो ।
कार्यक्रममा सहभागीले आयोगको योग्यता, निष्पक्षता र स्वच्छतामा आधारित सिफारिस प्रणालीले नागरिकको ठुलो विश्वास जितेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले आयोगको निष्पक्षता र विश्वसनीयताले नै युवालाई सार्वजनिक सेवामा आउन प्रेरित गरेको बताउनुभयो । उहाँले आयोगले छनोट गरेका उम्मेदवार सुशासन, पारदर्शी र प्रशंसनीय प्रशासनिक दक्षताका प्रतीक हुने विचार व्यक्त गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डाक्टर कल्याणी मिश्र त्रिपाठीले हालैको न्याय सेवा आयोगको सिफारिसमा विश्वविद्यालयका अत्यधिक विद्यार्थी सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
आयोगका सदस्य माधव बेल्बासे, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, आयोगको धनकुटा कार्यालयका प्रमुख रामदत्त पाण्डेय र विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सार्वजनिक सेवामा प्रवेश गर्ने उम्मेदवारमध्ये ७५ प्रतिशत कृषक परिवारका सदस्य रहेको जानकारी दिँदै सबै वर्ग समुदायका लागि आयोगमार्फत नागरिकले समान अवसर प्राप्त गरिरहेको बताउनुभयो ।
कार्यक्रममा आयोगका सहसचिव यज्ञप्रसाद ढुङ्गेल र धनकुटा कार्यालयका प्रमुख पाण्डेयले विद्यार्थीमाझ लोक सेवा आयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
आयोगले योग्य र दक्ष युवालाई विदेश पलायन हुनबाट रोकेर राष्ट्र सेवाका लागि विश्वसनीय वातावरण तयार गरेकोमा सहभागीले सन्तुष्टि व्यक्त गरे । आयोगले यसप्रकारका अन्तर्क्रिया कार्यक्रम सात वटै प्रदेशमा आयोजना गरिरहेको जनाएको छ ।