• १९ भदौ २०८२, बिहिबार

नवीन सोचबाट मात्रै समृद्धि सम्भव

blog

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, भदौ १८ गते । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । उहाँले परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । 

आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आव २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो । “औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तन ल्याउन सक्दैन,” उहाँले भन्नुभयो, “हाम्रो हरेक काम प्रत्यक्ष परिणाममा देखिनु पर्छ, त्यसका लागि स्मार्ट तरिकाले काम गर्नुको विकल्प छैन ।” ठुलो लक्ष्य हासिल गर्न बलियो टिमवर्क अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयका महाशाखा, विभाग, कर्मचारीबिच समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्न उहाँले निर्देशन दिनुभयो । परिवर्तनका लागि नवीन सोच र गतिशील कार्ययोजना आवश्यक रहेको छ । मन्त्री देवकोटाले विश्वव्यापी प्रविधि र अवधारणालाई प्रदेशको विकासमा लागु गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले योजनालाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठी कार्यक्रममा वातावरण संरक्षण तथा जलवायु परिवर्तन विज्ञ डा. माधव कार्की र सहरी योजना विज्ञ डा. सङ्गीता सिंहले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख, सहरी विकास तथा भवन कार्यालयका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।