बैतडी समाचारदाता
बैतडी, भदौ १८ गते । डोजरले खनेको सडकबाट पहिरो खस्दा दुई वटा घरसहित पशुचौपाया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि ९० वर्षीय गोदावरी चन्द घाइते हुनुभएको छ । घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताउनुभयो ।
सुर्नया गाउँपालिका–२, कठनोली (चौपाता) मा डोजरले खनेको सडकबाट आइतबार दिउँसो पहिरो खस्दा स्थानीय गिरिश चन्दको आठकोठे र रेखा चन्दको चारकोठे घरसहित पशुचौपाया पुरिएका छन् । दिउँसोको समयमा पहिरो खसेकाले परिवारका सदस्य भाग्न सफल भए पनि दुवै परिवारको घर, पाँच वटा गाई, चार वटा बाच्छी, १५ वटा बाख्रा पहिरोमा पुरिएको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । सामाजिक अगुवा चन्दले अविरल वर्षा र डोजरले सडक खन्दा पहिरो खसेको बताउनुभयो । सतबाँझ–श्रीभावर सडकखण्डबाट सुर्नयाको कठनोली ग्रामीण सडक दुई वर्षदेखि निर्माण भइरहेको छ । डोजरले जथाभाबी सडक खन्दा हिउँदमा खानेपानीका मुहानसमेत पुरिएको स्थानीको गुनासो छ ।