• १९ भदौ २०८२, बिहिबार

लेक लागेर अठतिस पर्यटकको मृत्यु

blog

कास्की समाचारदाता

कास्की, भदौ १८ गते । उच्च हिमाली क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने जोखिम बढ्दो क्रममा छ । छोटो समयमा एकै पटक होचो भूभागबाट उचाइमा जाने जोखिम मोल्दा लेक लाग्ने गरेको पाइएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार बर्सेनि आन्तरिकदेखि बाह्य पर्यटकको समेत लेक लागेर मृत्यु हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर ज्यान गुमाएकामध्ये नेपाली छ, भारतीय आठ, अमेरिकी, कोरियन, जर्मन र 

स्विट्जरल्यान्डका एक–एक जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर अन्नपूर्ण क्षेत्रमा ज्यान गुमाउने पर्यटकको सङ्ख्या २० थियो । लेक लागेर ज्यान गुमाएका २० जनामध्ये नेपाली पाँच, भारतीय ११, बेलायत र युक्रेनका एक/एक तथा मलेसियाका दुई जना पर्यटक थिए । 

एक्यापको यो तथ्याङ्क अनुसार अधिकांश लेक लागेर ज्यान गुमाउने पर्यटकमध्ये पनि भारतीय र नेपाली छन् । दुई वर्षको अवधिमा ३८ जना पर्यटकको ज्यान जाँदा आधा सङ्ख्या (१९ जना) भारतीय पर्यटकको रहेको एक्यापको भनाइ छ । भारतीयपछि ११ जना नेपालीले पनि दुई वर्षको अवधिमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर ज्यान गुमाएका छन् । पछिल्लो वर्ष नेपालको तराई र सीमावर्ती भारतीय सहरबाट आएका भारतीय पर्यटक एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम बढेपछि जोखिम थपिएको पर्यटन व्यवसायी बताउँछन् । समुद्री सतहबाट एक सय मिटर हाराहारी उचाइमा रहेको तराई क्षेत्रबाट एकै दिन तीन हजार ७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यका लागि निकै नै जोखिमपूर्ण रहेको व्यवसायीको भनाइ छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताउनुभयो । उहाँले छोटो समयमा हतारको यात्राले लेक लाग्ने गरेको बताउनुभयो । “कम्तीमा मुस्ताङमा एक दिन बास बसेर गए सहज हुन्छ । कतिपय पर्यटक हतार गरेर पोखराबाट बिहान सबेरै हिडेर दिउँसो मुक्तिनाथ पुगिसक्छन् । त्यस्तै मनाङतिर पनि तिलिचो यात्रामा जाने पर्यटकले यात्रालाई कम समयमा पूरा गर्ने गरी माथिल्लो भेगसम्म उक्लिँदा जोखिम निम्तिने गरेको छ,” उहाँले भन्नुभयो । पर्यटकको व्यवस्थापनका लागि एक्याप क्षेत्रमा दुई हजार ४५० होटेल रहेको र त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको उहाँको भनाइ छ । 

होटेल सङ्घ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले पर्यटकलाई हतारमा उचाइमा पु¥याएर जोखिममा पार्ने प्रवृत्ति बढेको बताउनुभयो । यात्रा गर्दा हतार गर्ने परिपाटीले पनि बढी लेक लाग्ने जोखिम बढेको उहाँको भनाइ छ । पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने उहाँले बताउनुभयो । तराईको समथर ठाउँबाट आउने कतिपय पर्यटकले उचाइमा पनि उस्तै त होला भन्ने खालको सोच राखेर जाँदा लेक लाग्ने जोखिम रहने शर्माले सुनाउनुभयो । 

पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौँ पर्यटक विभिन्न ठाउँमा आउने जाने गर्छन् । अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकको पोखराबाटै मुख्य यात्रा सुरु हुन्छ । पछिल्ला दिनमा नेपालको दक्षिण सीमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकको ठुलै सङ्ख्या भेटिन थालेकोे छ । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने खतरा बढेको शर्माको भनाइ छ ।