गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), भदौ १८ गते । गेरुवा गाउँपालिका–२, वनघुस्रामा स्थानीय कर्णाली नदीको कटान नियन्त्रण गर्न दिनभर सक्रिय भएका छन् । उनीहरूले परम्परागत स्थानीय सामग्री जस्तै दाउरा, स्याउला, माटो, बोरा भरेको बालुवा र डोरी प्रयोग गरी गुन्टा निर्माण गरेका छन् । सुरक्षाकर्मीको सहयोगमा नदी किनारमा खसालिएको यो गुन्टाले केही हदसम्म कटान रोक्न सकेको छ तर पूर्ण रूपमा नियन्त्रणमा आउन भने सकेको छैन ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले मङ्गलबारदेखि कैलालीबाट ठुला ढुङ्गा (बिग बोल्डर) ल्याएर नदी किनारमा खसाल्न थालेको छ । करिब पाँच वर्षअगाडि बनाइएको
ड्यामसहितको तटबन्ध नदीले बगाएर कटान गरिरहेको छ । हालसम्म करिब तीन सय मिटर लामो तटबन्ध र तीन मिटर चौडाइको ड्याम कटान भइसकेको छ । ड्याम पूर्ण रूपमा बग्यो भने गेरुवा गाउँपालिका–२ र ३ का वनघुस्रा, वनकट्टी, सन्कट्टी, हिमालीपुर, मुर्गहवा, टिकुलीगढ र राजापुर नगरपालिका–१ को दौलतपुरका बस्ती डुबानमा पर्ने खतरा रहेको छ ।
आयोजनाका प्रमुख सुदिन मोक्तानका अनुसार “बर्सातको समयमा पर्याप्त बिग बोल्डर नपाउनुले कटान नियन्त्रणमा समस्या आएको छ । हाल करिब ४० टिप्पर ढुङ्गा ल्याएर जोखिमपूर्ण ठाउँमा मात्रै काम भइरहेको छ । यो प्रयास केवल मलहमका रूपमा मात्रै छ ।”
बिग बोल्डर र स्थानीयलगायतको प्रयासले हालसम्म राजापुर नगरपालिका–४, अनन्तपुर र दलैघाट क्षेत्रमा कटान रोक्न सफल भएको छ । केही समयअगाडि ड्याम कटान हुँदा राजापुर, अनन्तपुर, दलैघाट, छेदिया र सत्ती पुल जोखिममा परेको थियो ।
नेपाल सरकारले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रलाई कर्णाली नदीको कटान र बाढीबाट जोगाउन आयोजनाको स्थापना गरेको हो तर एक दशक बितिसक्दा पनि योजना अनुसारको कुल कामको १८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
आयोजनाका प्रमुख मोक्तानका अनुसार ७३ किलोमिटर तटबन्ध निर्माण गर्ने योजना भए पनि अहिलेसम्म केवल १५ किलोमिटर तटबन्ध निर्माण भएको छ । बाँकी करिब ५८ किलोमिटर तटबन्ध निर्माण गर्न अझै बाँकी छ ।
वित्तीय समस्या र निर्माण कम्पनीको ढिलाइका कारण आयोजना सुस्त गतिमा अगाडि बढिरहेको छ । अहिलेसम्म करिब दुई अर्ब रुपियाँ खर्च भइसकेको छ भने करिब ७३ करोड रुपियाँ तटबन्ध निर्माणका लागि व्यवसायीसँग सम्झौतामा बाँकी रहेको छ ।